काठमाडौं, २ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारलाई लिएर चीनले आन्तरिक तयारी थालेको छ ।
निर्वाचित भएपछि पछिल्लो समय राष्ट्रपति ट्रम्प ताइवान मुद्दा उठाएर चीनसँग निहुँ खोज्ने काम गरिरहेका छन् । जसबाट चीन रुष्ट छ र, यस्तो व्यवहार जारी रहे बदला लिनसक्छ ।
ट्रम्पलाई ‘अज्ञानी बालक’ भन्दै ताइवानबारे नबोल्न चेतावनी दिएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले भर्खरै एक रिपोर्ट प्रकाशित गर्दै ताइवानमा वाशिगंटनको नीति परिवर्तन भए चीनले बदला लिनसक्ने आशय व्यक्त गरेको छ ।
ग्लोबल टाइम्स सरकारको धारणा बोल्ने आधिकारिक पत्रिका हो । रिपोर्टअनुसार वासिंगटनले ताइवानलाई सहयोग गर्ने तथा हतियार पठाउने काम गरिह्यो भने चीनले विशेषगरी अमेरिकाले दुःख दिइरहेका अन्य देशलाई सहयोग गर्न सक्छ ।
हालसम्म तटस्थ बस्दै आएको चीनले अमेरिकासँग बदला लिन यो कदम चाल्न सक्ने चिनियाँ अधिकारी बताउँछन् ।
भर्खरै, डोनाल्ड ट्रम्पले फक्स न्यूज च्यानलमा विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्रका बीचको सम्बन्धको कोसेढुंगाका रुपमा भन्दा पनि कसैले साटफेर (नेगोसियसन) का लागि एक चीन नीतिलाई अंगालेको हुन सक्ने बताएका थिए ।
‘कुटनीतिमा ट्रम्प नयाँ छन् र ताइवानको मामलामा उनको बुझाई धेरै सतही छ । उनी व्यापारी हुन् र चीनका लागि ताइवान व्यापारको प्रश्न होइन भन्ने तथ्यलाई उनले महसुस गर्दैनन् । ताइवान नेगोसियसनको विषय बन्न सक्तैन,’ अन्तर्राष्ट्रिय मामलासम्बन्धी चाइना विश्वविद्यालयका प्रोफेसर ली हाइदोङ्गले भने । ग्लोबल टाइम्सका अनुसार उनले एक चीन नीतिमा नेगोसियसन गर्न मिल्दैन भन्ने कुरा पनि बताए ।
यसअघि ट्रम्पले डिसेम्बर २ मा ताइवानका राष्ट्रपतिसंग पहिलो टेलिफोन वार्ता गरेका थिए । र, यो सन् १९७९ यता कुनै अमेरिकी राष्ट्रपतिले ताइवानको कुनै नेतासंग गरेको पहिलो वार्ता थियो । जसलाई ‘एक चीन नीति’को उल्लंघनका रुपमा पनि हेरिएको थियो ।
तत्कालिन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ‘एक चीन नीति’ अंगाल्दै आधिकारिक रुपमै ताइवानलाई चीनको भाग भएको घोषणा गरेका थिए । त्यही अमेरिकी नीति नै सन् १९७९ यता अमेरिका–चीन सम्बन्धको प्रमुख आधार रहंदै आएको छ ।
















प्रतिक्रिया