काठमाडौं, २८ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक चीन नीति’ नमान्ने बताएपछि चीनले कडा आपत्ति जनाएको छ ।
सोमबार फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनबाट फाइदा नलिई उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको बताएका थिए ।
त्यसको लगत्तै सोमबार साँझ चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ताइवानको सम्वेदनशीलतालाई बुझ्न ट्रम्पलाई आग्रह गरेको छ ।
ट्रम्पले ताइवान चीनको एक भाग हो भनेर मान्दै आएको अमेरिकाले भविष्यमा त्यो मान्न नसक्ने आशय व्यक्त गरेपछि बेइजिंगले गम्भीर चिन्ता व्यक्त गरेको हो ।
चीनले ताइवानलाई चीनकै क्षेत्र मान्दछ । र, १९७९ मा वाशिंटनसँगको कुटनीतिक सम्बन्ध जोड्नुअघि अमेरिकाले त्यो नीतिलाई सार्वजनिक रुपमा स्वीकार गर्नुपर्ने शर्त चीनले राखेको थियो ।
चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ता गेङ सुवाङ भन्छन्- हामी अमेरिकाको नयाँ सरकार र नेतालाई ताइवानको मुद्दालाई चीन र अमेरिकाको सम्बन्धमा क्षति नपुग्नेगरी सावधानीपूर्वक हेर्ने आह्वान गर्दछौं ।
सन १९७९ यता एक चीन नीति चीन र अमेरिकाको सम्बन्धको आधार रहेको छ ।
के भनेका थिए ट्रम्पले ?
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भने– ‘म यो बुझ्दिन कि हामी एक चीन नीतिमा किन बांधिनुपर्छ। हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासंग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्ने ?’
ट्रम्पले थप अगाडि भने– हेर्नुस्, चीनले जानाजान आफ्नो मुद्राको भाउ घटाउंदा हामीलाई असर परेको छ । हामीले कर लगाएका छैनौं तर उनीहरुले सीमामा त्यसो गरिरहेका छन् । चीनले साउथ चाइना सीमा सैन्य किला बनाएको छ जुन उसले गर्नहुन्थेन। चीनले मलाई प्रभावित पारोस् भन्ने म चाहन्न ।’
यसअघि पनि ट्रम्पले ताइवानी राष्ट्रपतिसंग टेलिफोनमा कुराकानी गरेपछि चीन रुष्ट बनेको थियो । अन्तर्वार्तामा ट्रम्पले आफूले कुनै देशको राष्ट्रप्रमुखलाई फोन अरुको किन टाउको दुखाई समेत भनेका थिए ।
यता चिनियाँ सरकारको पत्रिका ग्लोबल टाइम्सले ट्रम्पको यस्तो अभिव्यक्तिपछि उनलाई ‘अज्ञानी बालक’ भनेको छ ।
















प्रतिक्रिया