३ कार्तिक २०८३, मंगलबार

चीन जोड्ने स्याफ्रुबेँसी–मैलुङ सडकमा नेपाली सेनाबाट फलामे पुल निर्माण

31.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanek-nepali-sena-army
फाइल तस्वीर

रसुवा, २६ मङ्सिर । नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य द्रुत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ ।

नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार हाकु गाविसको वडा नं ९ र राम्चे गाविस–१ बीच मैलुङ दोभानको त्रिशूली नदीमा फलामे पुल निर्माण गरिएको हो ।

सामान ढुवानीका लागि २४ टन भारबहन क्षमताको १२० फिट लामो सो पुलले सडक निर्माणमा चाहिने उपकरणलगायत सबै प्रकारका निर्माण सामग्री निर्माणस्थलमा लैजान सहज भएको र केही समयपछि सोही आसपासमा अर्को पक्की पुल निमाण भएपछि सो पुल झिकिने कार्यदलले जनाएको छ ।

सरकारको निर्देशन बमोजिम डेढ वर्षभित्र १७ किमी डबल लेनको (सडक) राजमार्ग निर्माणको काम द्रुत रूपमा अगाडि बढिरहेको र हालसम्म लगभग चार हजार मिटरमा ट्र्याक खुली दुई किमी सडक डबल बनाउने कार्य सम्पन्न भइसकेको बताइएको छ ।

कडा चट्टानले पैदलसमेत हिँड्न सम्भव नभएको भौगोलिक विकट क्षेत्रमा राष्ट्रिय गौरवको सडक निर्माणमा नेपाली सेनाले गरेको कार्य गुणस्तर तवरले अगाडि बढेको देखिएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा त्रिशूलीदेखि सोम्दाङसम्मको १०५ किमी सडक नेपाली सेनाले निर्माण गरेको बताउनुभयो । रासस