काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता नेता फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्तावमा एमालेको समर्थन रहने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता मन्सुरले भने, ‘एमाले लतारिएर आएर संविधान संशोधन प्रस्तावमा साथ दिन्छ । प्रस्ताव कुनै पनि हालतमा पास हुन्छ ।’ उनले एमालेले साथ नदिए पनि दुईतिहाइ पुग्ने भन्दै एमाले बाध्य भएर आफै समर्थनमा आउने दाबी गरे ।
प्रमुख विपक्षी दल भएर एमालेले संसद अबरोध गरेकोमा आपत्ति जनाएका कांग्रेस नेता मन्सुरले भने, ‘राष्ट्रघाती एमाले पार्टी हो । हामी होइन । आन्दोलन गरेर एमालेले ठूलो गल्ती गरेको छ ।’
सत्ताकाकारण एमालेलाई अंकार रहेको आरोप लगाएका नेता मन्सुरले भने, ‘सत्ताबाट बाहिरिएका कारण एमालेका अध्यक्ष केपी ओलीलाई रिस उठेको हुन सक्छ । पछि शान्त भएर सोच्नु भयो भने यो प्रस्तावलाई आफै आएर सहयोग गर्नु हुन्छ ।’
सोही कार्यक्रममा कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेको समर्थनविना संविधान संशोधनको प्रस्ताव पारित भयो भने त्यो कार्यान्वयन हुन नसक्ने बताए ।
‘एमालेको सहमति विना संशोधन प्रस्ताव पारित गर्नु हुँदैन’, उनले भने, ‘पछि संविधान कार्यान्वयनमा समस्या हुन्छ । एमालेसँग पहिला कुरा गर्नुपर्छ ।’











प्रतिक्रिया