काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार हेमन्त पोखरेलसहित ११ जना पार्टी परित्याग गरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फर्किएका छन् ।
सुनसरीको बयरबनमा आयोजित विशेष कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरु रामबहादुर थापा ‘बादल’ सहितको एकतामा गएका थिए ।
क्रान्तिका लागि माओवादीहरुको एकता भनिए पनि संसदवादको आहालमा डुब्दै राष्ट्रियता नै संकटमा पार्ने काम माओवादी केन्द्रको नेतृत्वले गरेकोले आफूहरु क्रान्तिकारी पार्टीमा फर्किएको उनीहरुले बताए ।
माओवादी केन्द्रको मोरङको बनिगामाका सिङ्गो गाउँ कमिटी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको छ । गाउँ सेक्रेटरी धिरेन चौधरीसहित ९ जनाको गाउँ समिति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा समाहित भएको हो ।
झापा, मोरङ र सुनसरीलाई आफ्नो कार्यक्षेत्र वनाएर आफ्नो सांगठनिक गतिविधि गरिरहेको नेकपा माओवादी (क्रान्तिकारी) नेकपा(क्रान्तिकारी माओवादी)मा समाहित भएको छ ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै सो पार्टी समाहित भएको घोषणा गरेको थियो । क्रान्तिकारी माओवादीहरुको एकीकरण तथा ध्रुवीकरण कार्यक्रममा पार्टी एकीकरण भएको जानकारी दिइएको हो ।
हाल सो पार्टीमा ३१ केन्द्रीय सदस्य र करिव ५ सय संगठित कार्यकर्ता क्रियाशील रहेको नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव आकाशले जानकारी दिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल, कोचिला राज्यका संयोजक केदार गुरागाई, देशभक्त जनगणतान्त्रिक मोर्चाका कोचिला राज्य संयोजक मनोज श्रेष्ठ लगायतकाको समेत उपस्थिति थियो ।












प्रतिक्रिया