४ मंसिर २०८३, शुक्रबार

आन्दोलनको प्रतिकारमा उत्रियो मधेसी मोर्चा, एमालेका कार्यालय ध्वस्त पार्ने घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha

– नरेश केसी

भैरहवा, २१ मंसिर । भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा संघसंस्था सहभागी हजारौं जनताहरुले संविधान संशोधनको विरोधमा जुलुस निकालिरहँदा भैरहवादेखि ८ किलोमिटर पूर्व धकधइमा मधेसी मोर्चाको आमसभा सम्पन्न भएको छ ।

सभामा बोल्ने मोर्चा तथा माओवादी केन्द्रका नेताहरुले सरकारले प्रस्ताव गरेको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने जिकिर गरेका छन् ।

सभामा बोल्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपमहासचिव एवं सांसद अभिषेक प्रताप शाहले एमालेले राष्ट्रवादको नाममा भ्रम फैलाएको आरोप लगाए । उनले भने– ‘भ्रम फैलाउने एमालेको कार्यालयहरु ध्वंस गर्नुपर्छ । यसको शुरुवात मेरो जिल्ला कपिलवस्तुबाट हुन्छ ।’

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीले उत्पीडित मधेसी जनजाति जनताको उपेक्षा गर्दै मण्डले राष्ट्रवादको वकालत गरेको आरोप लगाए ।

सभामा सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादवले ५ नम्बर प्रदेश टुक्रयाउने प्रस्तावमा पहाडी जिल्लामा आन्दोलन हुनु स्वाभाविक भएपनि रुपन्देही जिल्लामा आन्दोलन हुन औचित्यूर्ण रहेको टिप्पणी गरे ।

avishek-partap-saha

त्यस्तै नयाँ शक्तिका प्रदेश नम्बर ५ का संयोजक डा सुरेन्द्र चौधरीले एमाले अध्यक्ष ओलीको भाषणले सीके राउत जन्माइरहेको बताउँदै जनताको आक्रोश भावनामा परिणत भए मधेसका युवालाई सीके राउत बन्न ढिलाई नहुने बताए ।

सभामा संघीय समाजवादी फोरम नेपालका युवा केन्द्रिय सदस्य विद्या यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका रुपन्देही अध्यक्ष अजय वर्मा, तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य उमाशंकर यादव, राप्रपाका केन्द्रिय सदस्य ताहिर अली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ सचिव बैजनाथ सहानी लगायतका नेताहरुले एमालेप्रति रोष प्रकट गरेका थिए ।

नेताहरुले आफ्नो मन्तब्यको सबै समय एमाले र एमाले अध्यक्ष केपी ओलीलाई गालीगलौज गर्नमा खर्चेका थिए ।