काठमाडौं, २१ मंसिर । राष्ट्रियताको आन्दोलनले तीब्रता लिइरहेका बेला संघर्षका कार्यक्रमका विषयमा योजना बनाउने प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रदेश संयोजक र सचिवालयको संयुक्त बैठक बोलाएको छ ।
दुई दिनपछि काठमाडौंको धुम्बाराहीमा रहेको पार्टी मुख्यालयमा बस्ने संयुक्त बैठकले सरकारले दर्ता गराएको भनिएको संविधान संशोधनको राष्ट्रघाती प्रस्तावका विपक्षमा संघर्षका कार्यक्रम तयार गरिनेछ ।
एमालेले संसदमा सो प्रस्तावलाई कुनै पनि हालतमा टेबुल गर्न नदिने चेतावनी दिइसकेको छ । प्रस्तावलाई अगाडि बढ्न नदिने एमालेले रोष्टम समेत घेराउ गर्नेछ ।
कार्यक्रमलाई सातै प्रदेश केन्द्रित गरिने एमाले केन्द्रीय कार्यालयका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘राष्ट्रियताको आन्दोलन अगाडि बढिसक्यो’, उनले भने, ‘सातै प्रदेशका संयोजक र उपसंयोजक तथा सचिवालयका सदस्यहरूको बैठक बसेर आन्दोलनको खाका तयार पार्ने छौँ ।’
सरकारविरुद्धको कार्यक्रममा सात प्रदेशमा सभा गर्नेदेखि पूर्वपश्चिम जागरण अभियानलगायत रहने छन् । बैठकले राजधानी केन्द्रित आन्दोलनको पनि योजना बनाउने सचिव श्रेष्ठले बताए ।











प्रतिक्रिया