– ललित केसी
अछाम, २० मंसिर । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलले विदेशी दूतावासमा भात खान पुग्नेहरुबाट देशको अस्तित्व खतरामा परेको बताएका छन् ।
एमाले अछामको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उपाध्यक्ष रावलले मधेसी नेताहरुलाई लक्षित गर्दै आफ्नो देशको संविधान संशोधनको सल्लाह गर्न विदेशी दूतावासमा भात खान पुग्नेहरुवाट देशको अस्तित्व खतरामा पर्न सक्ने भएकाले चनाखो रहन कार्यकर्तालाई निर्देशन दिए ।
नेपालको अस्तित्व मेटाउन संविधान संशोधन
अहिलेको सरकारले नेपालको अस्तित्व मेटाउने गरी संविधान संशोधन प्रस्ताव ल्याएको उनको आरोप छ । ‘विदेशीलाई अंगीकृत नागरिकता प्रदान गरी उनीहरुलाई राज्यको प्रमुख पदमा पुर्याई नेपाललाई सिक्किमीकरण गराउने खेल भैरहेको छ,’ रावलले भने– ‘यसकाविरुद्ध देशभक्त नेपालीले लाग्नुपर्ने अवस्था आएको छ ।’
पूर्व गृहमन्त्री समेत रहेका रावलले संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको समयमा प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव ल्याएर देशलाई द्धन्द्धमा धकेल्ने काम गरेको आरोप लगाए । उनले मधेसीहरुका लागि भनेर ल्याएको प्रस्ताव मधेसीहरुले नै अस्वीकार गरेको संविधान संसोधन प्रस्ताव कसका लागि ल्याएको हो भन्ने प्रश्न गरे ।
हिमाल पहाड र तराई मिलेर बनेको अखण्ड सार्वभौम नेपालबाट तराईका जिल्लाहरु अलग्याई छुटै राज्यको नाममा विदेशीको हातमा सुम्पिने राष्ट्रघाती खेल भैरहेको बताउँदै उपाध्यक्ष रावलले विदेशीलाई खुसी पार्न आफ्नो देशको अस्तित्व समेत धरापमा पार्ने खोज्ने राष्ट्रघातीविरुद्ध आवाज उठाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।












प्रतिक्रिया