तौलिहवा, १९ मंसिर । संविधान संशोधनको प्रस्ताव राष्ट्रघातीभन्दै पाँच नम्बर प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरूमा मानवसागर उर्लिरहेका बेला कपिलवस्तुको सदरमुकाम तौलिहवामा एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाइएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजावादी फोरम नेपालका नेता तथा कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको पुत्ला जलाएका हुन् । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष सतिशचन्द्र गुप्ताको नेतृत्वमा ओलीको पुत्ला जलाएको जनाइएको छ ।
बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाइएको र राष्ट्रघाती भनेको विरोधमा ओलीको पुत्ला जलाइएको दाबी गरिएको छ ।
तौलिहवाको प्रशासन चौकमा जम्मा भएका नेता तथा कार्यकर्ताले एमाले अध्यक्ष ओलीविरुद्ध कडा नारावाजी समेत गरेका थिए । उनीहरूले एमाले पार्टीलाई राष्ट्रघाती भन्दै विरोध समेत गरेका छन् ।
बुटवलमा मानव सागर उर्लिएर संविधान संशोधन र तराई तथा पहाडीका जिल्लाहरू टुक्र्याउने षड्यन्त्रको विरोध भइरहेका बेला तौलिहवामा उपेन्द्र यादवको संघीय फोरमले एमाले र ओलीविरुद्ध प्रदर्शन गरेको छ ।
संविधान संशोधनको प्रस्तावको एमाले बाधक भएको आरोप उनीहरूले लगाएका छन् । ओलीको पुत्ला जलाउने कार्यक्रममा कांगेस, माओवादी केन्द्र र मधेसी दल केन्द्रित दलका कार्यकर्ताहरूको पनि सहभागिता रहेको दाबी गरिएको छ ।
मधेसी जनताको भावना अनुसार तराईका जिल्लाहरूबाट पहाडी जिल्ला टुक्र्याउने सहितको प्रस्ताव आएको भन्दै प्रदर्शनकारीले भव्य स्वागत समेत गरेको जनाइएको छ ।
उनीहरूले एमालेलाई सच्चिन समेत चेतावनी दिएका छन् । एमाले नसच्चिए प्रतिकार गर्ने चेतावनी संघीय फोरमका अध्यक्ष गुप्ताले दिए ।











प्रतिक्रिया