१९ कार्तिक २०८३, बिहिबार

सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस-सुन्तलीलाई सरकारले सहयोग गर्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmus

काठमाडौं, १९ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रुपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत वस्ती निर्माण गरी उनीहरुको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)सँग मन्त्रालयमा भएको भेटमा उहाँले एकीकृत वस्ती निर्माणका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै ‘जनता आवास कार्यक्रम’सँगै जोडेर एकीकृत वस्ती निर्माण गर्न धुर्मस–सुन्तली फाउन्डेसनलाई सुझाव दिनुभयो । एकीकृत वस्ती निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गरी आयआर्जनको विषयलाई पनि सँगै जोड्नुपर्ने उहाँको भनाइ थियो ।

एकीकृत वस्ती नै पर्यटकीय गन्तव्य हुन सक्ने गरी सात वटै प्रदेशमा एकीकृत वस्ती निर्माण गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत वस्तीमा ‘होम स्टे’ सञ्चालन आर्थिक उपार्जन गर्न सकियोस् ।”

सो अवसरमा भूकम्पपीडितलाई एकीकृत नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरेका चर्चित हास्यकलाकार धुर्मुसले सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्ने आफ्नो चाहना रहेको बताउनुभएको थियो । उहाँले फाउन्डेसनले छिट्टै नै सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न लागेकाले सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’सम्म पुग्ने सडक कालोपत्रे गर्न सरकारसँग सहयोग माग्नुभएको थियो । उहाँले बर्सेनि आगलागीबाट पीडित बन्दै आएका महोत्तरीको मुसहर वस्तीलगायत अन्य सीमान्तकृत र लोपोन्मुख समुदायमा पनि एकीकृत नमूना वस्ती निर्माण गर्ने फाउन्डेसनको योजना रहेको बताउनुभएको थियो ।

सो अवसरमा मन्त्री पाण्डेले गिरान्चौरको एकीकृत नमूना वस्तीसम्म पुग्ने सडक तत्काल कालोपत्र गरिने र सात वटा प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरान्चौरका भूकम्पपीडितका लागि नमूना एकीकृत वस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।