काठमाडौं, १८ मंसिर । भारतीय हस्तक्षेपको विरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले शनिबार बिहानै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
सयौँको संख्यामा एकाएक जम्मा भएका युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले भारतविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप गरेकाले विरोध स्वरुप प्रदर्शन गरेको बताए ।
संविधान संशोधनमा भारतको डिजाइनमा प्रस्ताव आएको भन्दै विरोध भइरहेका बेला एमाले निकट युवा संघ र अनेरास्ववियुले नेपालस्थित भारतीय राजदूतवास अगाडि प्रदर्शन गरेर आपत्ति जनाएका हुन् ।
भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई शनिबार बिहान ९ बजे डिनरका लागि बोलाएको केही अनलाइनहरूले समाचार प्रकाशित गरेपछि एमालेका कार्यकर्ताहरू दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
युवा संघ र अनेरास्ववियुका कार्यकर्ता एकाबिहानै दूतावास अगाडि जम्मा भएपछि सो क्षेत्रमा उल्लेख्य सुरक्षाकर्मी परिचालन भएका छन् ।











प्रतिक्रिया