काठमाडौं, १७ मंसिर । संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती भन्दै विरोधमा उत्रिएका एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले आज पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौंको नयाँबानेश्वरमा अपरान्ह ३ बजे विरोध प्रदर्शन गर्न लागिएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
‘राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव खारेज गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘तराई र पहाडलाई अलग गराउने षड्यन्त्रको पक्षमा कहिल्यै नेपाली जनताको समर्थन रहँदैन ।’
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरेर संविधान संशोधनको प्रस्ताव अगाडि बढेपछि एमाले र उसका भातृसंगठनहरूले राजधानीसहित मुलुकका विभिन्न जिल्लाहरूमा आन्दोलन चर्काइरहेका छन् ।
नयाँबानेश्वरको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनेरास्ववियु र युवा संघले आह्वान समेत गरेका छन् ।












प्रतिक्रिया