ललितपुर, १६ मंसिर । सहकारी क्षेत्रको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको भूमिकालाई थप प्रभावकारी बनाई सहकारी मार्फत देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा परिवर्तन गर्न सकिने बैंकका सल्लाहकारहरुले बताएका छन् ।
देशभर कार्यक्षेत्र भएको, सञ्जाल विस्तार गरेको, ३७ शाखा मार्फत ३० लाख भन्दा बढी जनताका बीचमा पुगेको सहकारी बैंकको प्रवद्र्धनका लागि राज्यले थप ध्यान दिनु पर्नेमा उनीहरुको जोड थियो ।
बैंकको १३ औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आयोजित सल्लाहकार, सञ्चालक र उच्च व्यवस्थापनको संयुक्त छलफल कार्यक्रममा सल्लाहकारहरुले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै बैंकका सल्लाहकार तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारी क्षेत्रमा लागेका सबैले सहकारीको मूल भावनालाई आत्मसात गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो । नाफामा मात्र केन्द्रीत नभई सहकारीको दर्शनलाई अंगालेर अगाडि बढ्न सकेमा मात्रै समग्र सहकारी अभियानले सफलता पाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा सल्लाहकारहरु प्रा.डा. विश्वम्भर प्याकुरेल, विष्णुबहादुर केसी, धर्मदत्त देवकोटा र भागवत श्रेष्ठले सहकारी बैंकले देशभरका सहकारी संघ संस्थाहरु मार्फत देश विकासमा पुर्याएको योगदानलाई थप प्रभावकारी बनाउन राज्यको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष रमेश पोखरेल र प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बैंकको समग्र अवस्थाा बारेमा जानकारी गराउनु भएको थियो ।
सहकारी बैंकको १३ औं वार्षिक साधारणसभा मंसिर १८ गते शनिवार काठमाडौंमा हुदैछ ।
















प्रतिक्रिया