
काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका दुई दर्जन बढी सांसदहरूले प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघाती भनेकोमा आपत्ति प्रकट गरेका छन् ।
मधेसबाट संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका मधेसी सांसदहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले आफैले हस्ताक्षर गरेको दस्तावेजलाई राष्ट्रघातको संज्ञा दिएर दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको हो ।
‘तत्कालीन संविधान सभा अन्तर्गतको संवाद तथा सहमति समितिमा संविधानको साझा दस्ताबेजको रुपमा प्रस्तुत गरिएको थियो । कांग्रेस र एमालेको त्यही साझा दस्ताबेजकै जगमा वर्तमान सरकारले संविधान संशोधनमार्फत सीमाङ्कन परिवर्तनको प्रस्ताव गरेको हो’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई विरोध गर्न एमालेका लागि कुनै धरातलीय आधार देखिदैन । आफैले हस्ताक्षर गरेको साझा दस्ताबेजलाई राष्ट्रघातको संज्ञा दिनु एमालेको दोहोरो मापदण्ड हो ।’
कांग्रेसका मधेसी सांसदहरूले सरकारले प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा दृढताका साथ उभिदै संसदबाट दुई तिहाई मतबाट अनुमोदन गराउनका लागि विपक्षी एमालेसहित सबै राजनीतिक दलहरूलाई सहयोगको अपील गरेका छन् ।
उनीहरूले संशोधन विधेयकले अबरुद्ध हुदै आएको राजनीतिक गतिरोध अत्य गर्ने दाबी समेत गरेका छन् ।
विज्ञप्तिमा फरमुल्लाह मंसुर, अमरेश कुमार सिंह, किरण यादव, महेन्द्र यादवसहितका २७ सांसदहरूले हस्ताक्षर गरेका छन् ।











प्रतिक्रिया