काठमाडौं, १५ मंसिर । केन्द्रीय बालकल्याण समितिले बालबालिकाको अधिकार उल्लंघन नगर्न सबै पक्षसँग आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै समितिले विभिन्न माध्यमबाट आफ्ना माग राख्नु, विरोध गर्न पाउनु मानव अधिकार भएता पनि आफ्नो मागका लागि अरुको अधिकार, अझ त्यसमा पनि मानव जीवनका अत्यन्त संवेदनशील समूहका रुपमा रहेका बालबालिकाको अधिकार उल्लंघन हुने कार्य भने कदापी मान्य हुन नसक्ने जनाएका्े छ ।
‘विगतमा भएका शैक्षिक संस्थाहरु बन्द गर्ने, बालबालिकालाई प्रत्यक्ष वा परोक्ष रुपमा आफ्ना स्वार्थका निम्ति प्रयोग गर्ने लगायतका गतिविधिबाट बालबालिकामा परेका नकारात्मक असरहरु ताजै छन्’ विज्ञप्तिमा भनिएको छ– ‘बालबालिकाले शान्तिपूर्ण रुपमा पढ्न तथा स्वास्थ्य उपचार पाउने लगायतका अधिकारको उल्लंघन हुने गरी बन्द, हड्ताल गराउने कार्यलाई कुनै पनि बहानामा औचित्यपूर्ण मान्न सकिदैन ।’
यस्तो छ पूरा विज्ञप्तिः
हालका केही दिनहरुमा देशका विभिन्न स्थानहरुमा भएका विरोध प्रदर्शन, बन्द लगायतका घटनाहरुका सन्दर्भमा हाम्रो ध्यान आकृष्ट भएको छ । विभिन्न माध्यमबाट आफ्ना माग राख्नु, विरोध गर्न पाउनु मानव अधिकार भएता पनि आफ्नो मागका लागि अरुको अधिकार, अझ त्यसमा पनि मानव जीवनका अत्यन्त संवेदनशील समूहका रुपमा रहेका बालबालिकाको अधिकार उल्लंघन हुने कार्य भने कदापी मान्य हुन सक्दैन । विगतमा भएका शैक्षिक संस्थाहरु बन्द गर्ने, बालबालिकालाई प्रत्यक्ष वा परोक्ष रुपमा आफ्ना स्वार्थका निम्ति प्रयोग गर्ने लगायतका गतिविधिबाट बालबालिकामा परेका नकारात्मक असरहरु ताजै छन् ।
बालबालिकाले शान्तिपूर्ण रुपमा पढ्न तथा स्वास्थ्य उपचार पाउने लगायतका अधिकारको उल्लंघन हुने गरी बन्द, हड्ताल गराउने कार्यलाई कुनै पनि बहानामा औचित्यपूर्ण मान्न सकिदैन । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान २०७२, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८, बालबालिका सम्बन्धी ऐन, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधिका मर्म विपरित हुनेगरी विद्यालय बन्द गर्ने, विद्यालयका सवारी साधनलाई अवरोध गर्ने, स्वास्थ्य सेवा बन्द गर्ने, विरोध गतिविधिमा बालबालिकालाई प्रयोग गर्ने जस्ता क्रियाकलापहरुबाट बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण लगायतका अधिकारको उल्लंघन हुने कार्य नगर्न, नगराउन सम्बन्धित सबैलाई हामी अनुरोध गर्दछौं ।
जोसुकै पक्षले जस्तोसुकै विषयमा माग राखेको भएपनि वार्ता र संवादबाट समाधान खोजिनुपर्दछ । विद्यालयमा अवरोध हुनेगरी बन्द, हड्ताल, तोडफोड लगायतका क्रियाकलापले बालबालिकाको मनस्थितिमा दीर्घकालीन असर पर्ने तथा बालसंरक्षण, बालविकास, बालसहभागिता र बालबचावट जस्ता बालबालिकाको अधिकार उल्लंघन हुने अवस्थालाई ध्यान दिँदै कुनै पनि वयस्कका गतिविधिले बालबालिकालाई हानि, क्षति नपुगोस् भन्ने सन्दर्भमा सबै पक्ष गम्भीर र संवेदनशील हुन अनुरोध गर्दछौं ।
स्मरणीय छ, बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनु बालअधिकारको एक प्रमुख सिद्धान्त हो र यसलाई नेपालको संविधानले समेत अंगीकार गरेको छ । बालबालिकाको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।













प्रतिक्रिया