१ कार्तिक २०८३, आइतबार

बेलायतले भन्यो- काश्मिर हिंसा अन्त्य गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boris-johnson

इस्लामाबाद, ९ मङ्सिर । बेलायती विदेश मन्त्री बोरिस जोन्सनले काश्मिरमा जारी हिंसा अन्त्य गर्न आग्रह गर्नु भएको छ ।

बिहीबार पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएका जोन्सनले सम्बन्धित पक्षलाई सचेत गराउँदै काश्मिर हिंसाले निरन्तरता पाएमा पाकिस्तान र भारतबीच तनाव बढ्दै गई सो क्षेत्र पूरै “अविश्वसनिय र भयावह युद्धभूमि (इन्क्रेडिबल बूमजोन)” मा परिणत हुने खतरा बढ्ने बताउनुभयो ।

पहिलो पटक पाकिस्तानको भ्रमणमा जानु भएका विदेशमन्त्री जोन्सनले पाकिस्तान अधिनस्थ काश्मिरको सीमा क्षेत्रमा चल्ने एक यात्रुबस दोहोरो गोली हानाहानमा परी कम्तीमा नौजना सर्वसाधारण नागरिक मारिएका एक दिन पछाडि सो अभिव्यक्ति दिनुभएको हो ।

करिब ७० वर्ष अघिदेखि पाकिस्तान र भारतबीच चल्दै आएको यस हिमाली क्षेत्रको रडाको साम्य पार्न बेलायती उपनिवेशबाट भारतवर्ष मुक्त भएको ७० वर्षपछि बेलायतले मध्यस्थता गर्न नसक्ने जनाउँदै यस झगडाको स्थायी समाधानको उपाय अरु कसैसँग नभई दुवै देशसँग मात्र छ भन्ने बेलायती विदेश मन्त्रीको तर्क थियो ।

वषौँअघि दुई देशकाबीच समझदारी भई अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहबरमा कायम गरिएको काश्मिर सीमाक्षेत्रको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)लाई दुबै पक्षबाट उल्लङ्घन भएको घटनाका बिषयमा आवाज उठाउँदै विदेशमन्त्री जोन्सनले गहिरो चिन्ता प्रकट गर्नुभयो ।

सन् १९४७ मा बेलायती साम्राज्यबादको शासन अन्त्य भई भारतवर्ष स्वतन्त्र भएलगत्तै भारत र पाकिस्तान पनि विभाजित भएका थिए । विभाजन पश्चात् काश्मिरको सबै क्षेत्रलाई दुबै देशले आफ्नो स्वामित्वको भन्ने दावी गर्दै दुई÷दुई पटक ठूला युद्ध लडि सकेका छन् ।

यता, काश्मिरका सशस्त्र विद्रोही समूहले भने “स्वतन्त्र र सार्वभौम काश्मिर” वा “काश्मिरलाई पाकिस्तानमा गाभ” भन्ने माग राखी भारतीय सेनासँग दशकौँ पहिलेदेखि छुट्टै खालको लडाइँ लड्दै आइ रहेको छ ।

दुई देशबीच चर्केको द्वन्द्व होस् वा सशस्त्र विद्रोही समूहको तनावमा परेर होस्, हालसम्म यस क्षेत्रमा दशौँ हजार मानिस, विशेष गरी सर्वसाधारण निर्दोष जनताले ज्यान गुमाइसकेका छन् । – एएफपी