काठमाडौं, १० मंसिर । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालन हुने सि.सं. १७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको मंसिर ९ गते एक समारोहका वीच उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा संगठनको जग भनेको नै दक्ष जनशक्ति हो, त्यसले संगठनको लक्ष्य प्राप्तीको लागि अहम भूमिका खेल्ने उल्लेख गर्नुहुँदै यस्ता जनशक्तिलाई सुरक्षा चुनौतीको सामना गर्न सक्नेगरी तालिम पाठ्यक्रम समयानुकुल परिमार्जन गर्दै लगिएको बताउनुभयो ।
उहाँले व्यावसायीक तथा पेशागत कोर्षको रुपमा रहेको यस तालिमले व्यक्तित्व विकास गर्नुका साथै संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले अधिकृत सुहाउँदो आचरण एवं कमाण्ड कन्ट्रोल तथा योजना बनाउन सक्षम ज्ञान र सिप विकासको लागि यस किसिमको तालिमको महत्वपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई अवसरको रुपमा लिई सकरात्मक सोचका साथ अनुशासित एवं लगनशील भई तालिमबाट बढीभन्दा भढी ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
कार्यक्रममा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्रकुमार सिंहले धन्यवाद ज्ञापनको क्रममा सक्षम र योग्य कमाण्डर उत्पादन गर्न र कार्यक्षमता अभिबृद्धि गर्न यस प्रकारका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले तालिम सम्बन्धी योजना प्रस्तुत गर्नुभएको थियो ।
बाह्र हप्ता अवधिको उक्त तालिममा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २७ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३४ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई कमाण्ड तथा व्यवस्थापन, काउन्टर इन्टेलिजेन्स, अप्रेशन अफ वार, ट्याक्टिस, अपराध नियन्त्रण, मानवअधिकार, संगठनको कामकारवाही, सुरक्षा लगायतका विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।













प्रतिक्रिया