ललितपुर, १० मंसिर । भूकम्पपीडितका समस्यामा जिम्मेवार बन्न सरकारलाई आग्रह गर्दै ललितपुर एमालेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले जिल्ला कमिटिका तर्फबाट गएको प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले विभिन्न कारणले छुट भएका भुकम्पपीडितहरुका गुनासालाई पुन दर्ता गर्नुपर्ने, लाभग्राहीको सूचीमा नाम निस्किएका घरजग्गाको लालपुर्जा नभएकाहरुलाई बैकल्पिक व्यवस्था गर्नुपर्ने लगायतका ५ सुत्रीय माग राखेका छन् ।
गुनासा दर्ता गर्न जाँदा विविध कारण देखाएर गुनासा दर्ता नै नभएको गुनासो गर्दै आएका सबै गुनासा दर्ता गरेर विषयगत रुपले छुट्याएर आवश्यकताअनुसार सिफारिस गर्ने व्यवस्था गर्न समेत एमालेले माग राखेको छ । भूमीहीन तथा सुकुम्वासी भूकम्प पीडितका लागि जिम्मेवार ढंगले सरकार र मातहतका निकाय प्रस्तुत नहुने हो भने त्यसको परिणाम गम्भिर हुनेतर्फ पनि ध्यान दिन एमालेले आग्रह गरेको छ । भूमीहीन तथा सुकुम्वासी भुकम्पपीडितहरुको आन्दोलनमा एमालेले साथ दिने पनि जिल्ला अध्यक्ष व्यञ्जनकारले बताउनुभएको छ ।
अनुदान रकम वितरणमा भईरहेको ढिलाईमा समेत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको छ । जिल्लाका विभिन्न स्थानमा भुकम्पपश्चात लगत्तै गएको टोलीले क्षतीग्रस्त घर भनेर क वर्गको कार्ड दिइएका भुकम्पपीडितहरुलाई पनि प्राविधिक टोलीले मर्मत गरेर बसेका आधारमा लाभग्राहीको सूचीबाट हटाएका कारण पूर्ववत कार्ड प्राप्त गरेकाहरु आन्दोलित भएको एमाले ३ नं प्रदेश कमिटि सदस्य मधुसूदन पौडेलले बताएका छन् ।
पौडेलका अनुसार जिल्लाभित्र ३ हजार भन्दा बढी भूकम्पपीडित विविध कारण लाभग्राहीको सूचीबाट हटेको बताएका छन् । जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारका अनुसार स्ववासी, विर्ता, गुठी र ऐलानीमा बस्दै आएका हजारौं नागरिक पीडित भएकाले तिनको हीतमा आवश्यक व्यवस्था हुनुपर्ने बताउँछन् ।













प्रतिक्रिया