– दिनेश ठाकुर
बर्दिया, १० मंसिर । मंसिर महिना लागेसंगै सुरु भएको चाडोका कारण बर्दियाका बाढीपीडितहरु समस्यामा परेका छन् ।
मंसिर सुरु भएसंगै बिहानबेलुका र रातीको समयमा अत्याधिक चिसो बढेपछि गुलरिया ५ रामपुरटप्परका ४३ घरपरिवारसहित विभिन्न ठाउँका बाढीपीडितहरु समस्यामा परेका हुन् । बाढीका कारण घरबार बिहिन भएका गुलरिया ५ रामपुरटप्परका ४३ घरपरिवार सहित विभिन्न ठाउँमा त्रिपालमुनी रात काट्न बाध्य भइरहेका बाढीपीडित क्षेत्रका बालबालिका र बृद्ध–बृद्धाहरु सबैभन्दा बढि समस्यामा परेका छन् ।
बाढीबाट बिस्थापित भएर आफ्नै पहलमा पुर्नस्थापित भएका बासिन्दाहरु समेत प्रयाप्त लत्ताकपडा र भरपर्दो बासको अभावमा चिसोले समस्यामा परेको बताएका छन् । ०७१ साल साउन ३० गतेको बाढीबाट बर्दियामा ९० हजार जनसंख्या प्रभावित भएको र ३ हजार ८ सय ५९ वटा घर पूर्ण रूपमा क्षति भएको रेडक्रसले जनाएको छ ।
बाढी गएको दुई बर्ष भन्दा बढि समय बितिसक्दासम्म पनि पुनःस्थापित हुन नसकेका रामपुरटप्परका ४३ घरपरिवार अझैपनि गुलरिया नगरपालिकाको तुलसीपुरस्थित खेलमैदानमा त्रिपालमुनि रात काटिरहेका छन् । बस्ने बास र खाने गास नभएका बाढी पीडितहरुलाई जाडोले झनै समस्या पारेको रामपुरटप्परकी रुपकला भण्डारीले बताइन् । उनले जाडोका कारण बालबालिका लगायत बुढापाकाहरुमा स्वास्थ्य समस्या देखा परेको र उपचार गर्ने पैंशाको अभाव भएको बताइन् ।
अहिलेसम्म पनि पुनःस्थापना नभएपछि जिल्लाका बाढीपीडितहरूले कष्टकर जीवन बिताउन बाध्य छन् । पटकपटक पुनःस्थापनाको माग गरे पनि सरकारले बेवास्ता गरेका कारण अस्थायी शिविरमा बसिरहेका बाढीपीडितहरु कष्टकर जीवन बिताउन बाध्य भएका रामपुरटप्पुका बाढीपीडित गोविन्द खत्रीले बताए । सरकारले बाढी पीडितहरुलाई घर बनाउने अनुदान दिने भनिएपनि अहिलेसम्म बर्दियाका कुनै पनि बाढीपीडितहरुले उक्त रकम पाएका छैनन् । बाढी पीडितहरुको बिजोग बन्दै गएकाले अब तत्काल पुनःस्थापनाको काम अगाडि बढाउनु पर्ने उनीहरुको माग छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगञ्जले पुनःस्थापनाका लागि बाढीबाट पूर्ण क्षति भएका बर्दियाका साढे ३ हजार बाढी पीडितहरुले फारम भरेको भएपनि आवश्यक रकमको अभावका कारण काम सुरु गर्न नसकिएको बताएको छ । उक्त बाढीबाट बर्दियामा २० जनाको ज्यान गएको थियो भने १३ जना बेपत्ता भएका थिए ।













प्रतिक्रिया