
काठमाडौं, १० मंसिर । संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले एमालेले अवरोध गरेपनि संसद्मा संविधान संशोधनको मस्यौदा दर्ता नरोकिने बताएका छन् । संशोधन दर्ता मात्रै होइन एमालेले असहयोग गरेपनि संशोधन प्रस्ताव समेत संसद्मा पारित हुने उनले विश्वास व्यक्त गरेका छन् ।
संशोधन दर्तामा एमालेले अवरोध गरे प्रधानमन्त्रीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर दर्ता गराउन सुझाव ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै सुवेदीले भने,– ‘एमालेको अवरोधले संशोधन दर्ता कुनै पनि हालतमा रोकिँदैन, संसद्मा गणितीय संख्याले संशोधन नरोकिने अवस्था देखेपछि एमाले आत्तिएको मात्रै हो ।’
एमालेले आफ्नो पतनको आत्मघाती बाटो नरोज्ने हो भने संशोधनमा उसले सहयोग गर्नुको विकल्प नभएकाले सुवेदीले बताए । उनले भने,– ‘संशोधन देशको आवश्यकता भएकोले एमालेको आफ्नै अस्तित्वको लागि पनि यो एउटा अवसर हो ।’
एमालेको अतिवादी सोंचले गर्दा मुलुक विखण्डनको खतरा उत्पन्न भएकोप्रति चिन्ता व्यक्त गर्दै सुवेदीले देशको अस्तित्व धरापमा परे त्यसको जिम्मेवारी एमालेले नै लिनुपर्ने बताए ।
मधेशी, आदिवासी जनजाति, खस, मुश्लिम, महिला लगायत उत्पीडित समुदायको माग सम्बोधनमा एमालेले अवरोध गर्न खोजे मुलुक गृहयुद्धको भूमरीमा फस्न सक्ने तर्फ उनले सचेत गराए ।
प्रधानमन्त्री प्रचण्डले पाँच पटक भाका सारेर पनि संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्न ढिलाई गरेकोप्रति उनले असन्तुष्टि जाहेर गरे । ‘संशोधन दर्ता गर्न अब थोरै पनि विलम्ब गर्न हुन्न । तर, संघीय गठबन्धनको माग विपरीत संशोधन गर्न खोजिए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन’– नेता सुवेदीले भने ।
संशोधन दर्तामा एमालेले अवरोध गरे प्रधानमन्त्रीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर दर्ता गराउन उनले सुझाव दिए ।












प्रतिक्रिया