– प्रकाश डोटेल
स्याङ्जा, ९ मंसिर । छिमेकी मुलुक भारतले ५ सय र १ हजारका नोट चलनचल्तीमा रोक लगाएपछि स्याङ्जामा भारु नोट सटहीमा कालोबजारी मौलाएको छ । नोटमा प्रतिबन्द लगाएसँगै सिमावर्ती बजारमा देखिएको कालोबजारी क्रमश पहाडी क्षेत्रमा मौलाएको छ ।
जिल्लाका प्रमुख व्यापारिक केन्द्र पुतलीबजार, वालिङ् र गल्याङ्का व्यवसायीसँग कालोबजारीमा संलग्नले अबैध रुपमा नोट सटहीको कारोबार गरेका छन् । सिमावर्ती बजारमा पहुँच हुने व्यवसायीले भारतीय नोटको कालोबजारी गरेको स्थानीयले बताए ।
“स्याङ्जा र बुटवलमा दुबैतर्फ व्यवसाय गर्दै आएका व्यवसायीले तपाईहरुसँग भारु छ, भए सटही हुन्छ भनेका छन् ।” स्थानीय एक व्यवसायीले भने, “कालोबजारी संलग्न व्यवसायले घर–घरमा आएर भारु सटही गरिदिने बताएका छन् ।” थोरै भारु हुने व्यवसायीसँग कम मुल्यमा सटही गरेको उनले जानकारी दिए ।
कालोबजारीमा संलग्नले स्थानीय व्यवसायीसँग भारु ५ सयलाई ६ सय र १ हजारलाई १ हजार २ सय रुपैयाँ दिएर सटही गर्ने गरेका छन् । सटही गरेका नोटहरु स्याङ्जाबाट पाल्पा हुँदै बुटवल पुर्याउने गरिएको छ । नोटको सटही गर्न झण्डै दर्जन व्यवसायी संलग्न रहेको स्थानीयले बताए ।
“बजारमा भारतीय नोट सटहीमा हालसम्म कालोबजारी गरेको जानकारी र उजुरी आएको छैन् ।” प्रहरी प्रमुख एसपी देब बहादुर बोगटीले भने, “प्रहरीमा जानकारी र उजुरी आए खोजतलास गरि कानून बमोजिम कारबाही गरिन्छ ।”
स्थानीय बैंकहरुले भारु सटही नगर्दा कालोबजारी मौलाएको स्थानीय व्यवसायीको बुझाई छ । भारु नोट साट्न बैंकले पनि अनकन गर्ने, लिएर हिड्न पनि असुरक्षित भएपछि कम मुल्यमा भएपनि साट्न बाध्य भएको उनीहरुको भनाई छ । थोरै रकम साट्न हिड्दा जोखिम बढि हुने भएपछि कालोबजारी मौलाएकोे व्यवसायीले बताए ।
“भारु नोट सटहीमा कालोबजारी भए त्यसलाई रोक्नु हामी सबैको कर्तव्य हो ।” स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नबराज सुबेदीले भने, “प्रतिबन्दीत भारु नोट सटहीमा सरकारले आवश्यक निर्णय लिन नसक्दा कालोबजारी भएको छ ।” कालोबजारीले साना व्यवसायी मर्कामा पर्ने उनले बताए ।
नोट प्रतिबन्द र सटहीमा सरकार स्तरमै अन्यौल कायमै रहेकाले नहतारीन उद्योग वाणिज्य संघले आग्रह गरेको छ । जिल्लाका स–साना व्यवसायीसँग रहेका थोरै रकम सटहीमा हतारीन आवश्यक नरहेको संघले जनाएको छ ।
















प्रतिक्रिया