उदयपुर, ९ मंसिर । स्थानीय तह पुनर्संरचना चित्तबुझ्दो नभएको भन्दै उदयपुरको पहाडी भेगका स्थानीयहरु तीन दिनदेखि सदरमुकाम केन्द्रित आन्दोलनमा छन् । स्थानीय राजनीतिक दल, पुनर्संरचना सम्बन्धी प्राविधिक समितिलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।
आन्दोलनको तेस्रो दिन बिहीबार पनि उनीहरुले आन्दोलनलाई जारी राख्दै जिल्ला बिकास समितिको कार्यालय घेराउ राखेकाछन् । जनता भन्दा पनि राजनीतिक केन्दित भएको भन्दै जिल्लाको उत्तरी गाबिस रौता, पोखरी, आँपटार, खाँबु, लाफागाँउ र साउनेका स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीय राजनीतिक दलका सिमित नेताले आफ्नो र दलको स्वार्थमा डुवेर जनतालाई पाएकभन्दा पनि अपाएक हुने गरी गाबिस समायोजन गरिएको र केन्द्र तोकिएको उनीहरुको आरोप छ । स्थानीय कमल राईको नेतृत्वमा संर्घष समिति नै बनाएका उनीहरुले यी गाबिसका केन्द्र भुट्टार नभई आँपटार र रौता पोखरीको सिमा क्षेत्र ऐतिहासिक पर्यटकिय स्थल रौता पोखरीमा हुनु पर्ने माग राखेका छन् । त्यसैगरी उनीहरुसँगै आन्दोलनमा होमिएका खाँबु र साउनेका स्थानीयले त्रियुगा नगरपालिका नभई रौता माई गाउँपालिकामा समाविष्ट हुन चाहेको आँपटार गाबिसका स्थानीय केशव राईले बताए ।
साउने र खाँबु बासीले भौगोलिक विकटता, विकासको हिसावल पछि परेको ठाउँ, नगरपालिका बन्नका लागि आधार स्तम्भ नै तयार नभएकाले गाउँपालिकामा नै जोडिन चाहेको संर्घष समितिका संयोजक कमल राईले बताए ।
भुट्टार केन्द्र हुने गरी नामाकरण गरिएको रौतामाई गाउँपालिकाको केन्द्र जिल्लाकै पर्यटकिय क्षेत्र, ऐतिहासिक धरोहर, सरकारी जग्गा प्रसस्त भएको ठाउँ, जलवायुका दृष्टिकोणलेसमेत असाध्य राम्रो ठाउँ भएकाले सोही ठाउँमा केन्द्र बनाउन प्रस्ताव गरिएको आँपटारीका स्थानीय टामिन्द्र राईले बताए ।
भुट्टार केन्द्र मिसिएका गाबिसका जनतालाई पाएक पर्ने ठाउँ नभएको र भोली संरचना बनाउँदा सरकारी जग्गा नभएकाले व्यक्तिका जग्गा खरीद गरेर भवन बनाउँदा आर्थिक भार पर्ने संयोजक राईको भनाई छ । उक्त केन्द्रमा भुट्टार, नामेटार, रौता, पोखरी, आँपटार र लाफागाउँ गरी ६ गाबिसलाई गाभिएको छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले जिल्लामा ४ वटा नगरपालिका र ४ गाउँपालिका बनाउने कात्तिक २० गते निर्णय गरी केन्द्रिय आयोगलाई पठाईसकेको छ ।













प्रतिक्रिया