– कृष्ण ओझा
पाँचथर, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानप्रति असन्तुष्ट दलहरुको औचित्यपूर्ण मागलाई सम्बोधन गरिने बताएका छन् । संविधान संशोधन गरी असन्तुष्ट दलहरुको औँचित्यपूर्ण मागलाई सम्बोधन गरिने छ ।
ताप्लेजुङमा आयोजित कञ्चनजंघा हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले सवै दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताए । दाहालले संविधान कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएकाले दलहरुवीच राष्ट्रिय एकता र सहमतिको विकल्प नभएको बताए ।
संबिधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहको निर्वाचन गराउने १४ महिनाको छोटोे अवधिलाई पूरा गराउन सबै दलहरुबीच एकता हुने बिश्वास पनि ब्यक्त गरेका छन ।
फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सुकेटार– लेलेप–ओलाङ्चुङगोला हुँदै टिपताला भञ्ज्याङ मार्फत चीन जोड्ने उत्तरदक्षिण सडकको बिस्तारका लागि सरकारले चीन सरकारलाई आग्रह गर्ने बताए ।
तमोर करिडोर, कञ्चजङ्घा पदमार्गको स्तरोन्नति,दोभानमा पुल निर्माण र गत सालको जेठमा गएको बाढी र पहिरोबाट बिस्थापित भएका ताप्लेजुङबासीलाई पुनसर््थापनाका लागि सरकार बिशेष सहयोग गर्ने सोचमा रहेको पनि प्रमले पीडितलाई आश्वास्त पारेका छन ।
महोत्सवमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ताप्लेजुङ पर्यटनको प्रशस्त सम्भावना बोकेको जिल्ला भएकाले गुरु योजना बनाई सरकारले लगानी गर्नु पर्नेमा जोड दिए । नेपाल सरकार, नेपाल पर्वतारोहण संघ लगायतको संयुक्त आयोजनामा सुरु भएको हीरक महोत्सव आउँदो बिहीबार सम्पन्न हुने छ ।
आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजंघा हिमालको बेलायती नागरिक जर्ज क्रिस्फोटर व्याण्ड र जो ब्राउनले सन् १९५५ मे २५ तारिखमा पहिलो पटक मानव पाइला राख्न सफल भएका थिए ।













प्रतिक्रिया