काठमाडौं, ७ मंसिर । मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन प्रस्ताव नै नल्याईकन मोर्चाले प्रस्तावको विरोध गर्यो भन्नुको कुनै तुक नभएको दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेले के भन्यो भनेर आफूहरुलाई कुनै अर्थ नराख्ने बताउँदै काँग्रेस र माओवादी केन्द्रसँग मोर्चाले तीन बुँदे सम्झौता गरेकोले तीन बुँदे लागु गर्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले मधेश र पहाड छुट्याउनुपर्छ भन्ने माग आफूहरुको नभएको समेत स्पष्ट पारे ।
उनले संघीयता फोकटमा नआएको उल्लेख गर्दै भने,‘संघीयता त्यतिकै आएको होईन, ५२ जना मधेशीको सहादतबाट संघीयता आएको छ ।’ उनले मोर्चा सम्मिलित संघीय गठबन्धनले सरकारलाई संशोधन प्रस्ताव ल्याउनको लागि १५ दिनको अल्टिमेटम समेत दिएकोले अब पनि प्रस्ताव ल्याउन ढिलाई गरे बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिए ।
उनले चुनाव गर्छु भनेर तीन ठूला दलहरुले हल्लामात्रै गरेको पनि आरोप लगाए ।
कर्णले अघि थपे, ‘चुनाव गर्छु भनेर काँग्रेस, एमाले र माओवादीले हल्लामात्रै गरेका हुन, चुनाव गराएर देखाए भैगयो नि ?’ उनले तीन जना नेताले जे भन्यो अब यो देशमा त्यही नहुने समेत जिकिर गरे ।













प्रतिक्रिया