काठमाडौं, ७ मंसिर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मुलुकमा यतिवेला दुई वटा अतिवाद सोच भएकाहरु हावी भएको भन्दै त्यसले मुलुकको निकास नदिने आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अघि थपे, ‘एउटा राष्ट्रवादको नारा दिने मण्डले राष्ट्रवा र अर्को जहिलेपनि आन्दोलन र क्रान्तिको थ्रेट दिने हावी भएका छन, यसले मुलुकको हित गर्दैन ।’ उनले यस्तो चर्का कुरा गर्नेहरुले राष्ट्र र जनताको पक्षमा केही गर्न नसकेको समेत आरोप लगाए ।
मन्त्री नायकले संविधान आँफैमा कम्प्रमाईजको दस्तावेज भएकोले असन्तुष्टहरुको आवाजलाई सम्बोधन गर्नपनि संविधान संशोधन आवश्यक रहेको बताए । उनले अहिले निर्वाचन मुलुकको लागि आवश्यक भएकोले पनि संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्दै संविधान कार्यान्यवनको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।
मन्त्री नायकले घरभित्रै आफ्नो समस्या आँफै समाधान गर्न आन्तरिक सहमति नभएपछिमात्रै बाहिरको शक्तिले खेल्ने हो भन्दै त्यसतर्फ सचेत हुनपनि प्रमुख दलहरुवीच राष्ट्रिय सहमति आवश्यक रहेको स्पष्ट पारे । उनले अघि थपे, ‘डलर खाएर भारुसँग टकराव गर्ने कुराले राष्ट्रियता बलियो हुँदैन नि?’
संविधान संशोनधमा साझा मिलनविन्दु पहिल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गरिरहेको बताउँदै उनले भने, ‘साझा मिलनविन्दु पहिल्याउनुपर्छ, यो हाम्रो आवश्यकत्ता हो नि, कसैको हाईन, एमालेपनि सहमतिमा आउँछ ।’ उनले एमालेले संशोधनमा सहयोग नगर्ने भनेपनि यो उसको तत्कालको रिस मात्रै भएको दाबी गरे । उनले अघि थपे, ‘ओली सरकार ढल्दा प्रचण्डसँग रिस उठेको होला ।’
मन्त्री नायकले शीर्ष नेताहरुले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्ने समेत खाँचो औंल्याए । उनले संविधान संशोधन प्रस्ताव सहमतिका साथ छिट्टै दर्ता हुने समेत विश्वास दिलाए । संविधान संशोधनको विपक्षमा एमालेले एक्कासी निर्णय गरेको आश्चर्य प्रकट गर्दै उनले भने, ‘एमाले गम्भिर बन्न जरुरी छ, उ पनि राष्ट्रको जिम्मेवार पार्टी हो ।’
उनले प्रधानमन्त्री दाहाल विभिन्न झालझेल झेलेर आएको नेता भएको कारण संविधान संशोधनमा सबैलाई सहमतिमा ल्याउन सक्ने समेत विश्वास व्यक्त गरे । एमाले जनताको कठघराबाट भाग्न नमिल्ने उल्लेख गर्दै भने, ‘एमाले जनताको घेराबन्दीमा छ, भाग्न मिल्दैन ।’













प्रतिक्रिया