
– प्रकाश डोटेल
बयरघारी (स्याङ्जा), ७ मंसिर । स्याङ्जाको भौगोलिक बनावटले मध्ये भाग पर्ने बयरघारी बजारमा कृषि र पर्यटनको प्रबद्र्धनका लागि पहिलो पटक भीरकोट महोत्सव हुने भएको छ । आउँदो पौषको ८ देखि १८ सम्म संचालन हुने गरि भीरकोट महोत्सव आयोजना गरिएको हो ।
“प्रथम भीरकोट महोत्सवको आधार, कृषि तथा पर्यटनको पूर्वाधार” भन्ने मुलनारालाई आत्मसाथ गर्दै आयोजना हुने महोत्सवमा ३ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अनुमान गरेको छ । त्यस अबधिमा २ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
करिब १ महिनापछि हुने महोत्सव आयोजक भीरकोट उद्योग वाणिज्य संघले तयारीलाई तिव्रता दिएको छ । संघले भीरकोट नगर क्षेत्रका पर्यटकीय क्षेत्रको पहिचान, कृषि उत्पादनको सम्भाव्यताको अध्ययन सकेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य बस्तुको निकासी सहज बनाउन महोत्सव सफल हुनेमा आयोजक विश्वस्त छ ।
“आन्तरिक पर्यटकीय क्षेत्र अवलोकन, स्थानीय कला सँस्कृतिको उत्थान, कृषिजन्य बस्तु प्रर्दशनमा महोत्सव कोषेढुङ्गा साबित हुनेछ ।” संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक हर्क बहादुर गुरुङ्ले भने, “महोत्सवलाई दिगो र उपलब्धी मुलक बनाउन स्थानीयलाई प्राथमिकता दिने छौं ।”
झण्डै १ वर्षअघि घोषित भीरकोट नगरपालिकाको चौतर्फी विकासमा व्यवसायीबीच सहकार्यले दिगोपना र विश्वासिलो वातावरण सृजना गर्नेमा स्थानीय व्यवसायीले विश्वास गरेका छन् । उनीहरुका अनुसार भीरकोटमा हुने पहिलो महोत्सवले स्थानीय पर्यटन क्षेत्र, कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा अहम भूमिका निर्वाह गर्ने छ ।
यहाँ उत्पादन हुने सुन्तला, कफी, अदुवा र नगदेबाली बिक्रीको वातावरण तयार गर्न भरमजदुर प्रयास गरिएको छ ।” संघका महासचिव तथा प्रचार–प्रसार संयोजक कमल त्रिपाठीले भने, “सम्भावना भएर पनि पहिचान हुन नसकेका पर्यटकीय क्षेत्रको पहिचान र प्रबद्र्धन महोत्सव एक उपलब्ध हुनेछ ।”
भीरकोट नगर क्षेत्रका गिद्ध ओढार, चौबिसे राजाको उद्गम थलो खिलुङ्कालिका, गडहरे गुफा, दुरबिनको सयहोगमा काठमाडौंको थानकोट देखिने तामुको लेक, बनस्पती सूचना अध्ययन केन्द्र सुन्दर चौर, प्याराग्लाईडिङ्ग उठान र बिसर्जन हुने एउटै स्थान भाने ओढारको विकासमा महोत्सव पहिलो खुडकिलो हुनेमा स्थानीय आशावादी छन् ।

“महोत्सव हुने स्थल बयरघारीको सिसौघारीमा करिब १ सय ५० व्यापारिक स्टल निर्माणको कार्य थालनी भएको छ ।” संघका कोषाध्यक्ष तथा आर्थिक संयोजक जगदिस कोईरालाले भने, स्टलमा कृषि, पर्यटन, कला सस्कृति, होटल, अटोमोबाइल लगाएत हुनेछ ।” निर्माणसँगै करिब ५० प्रतिशत स्टल बिक्री भईसकेको उनले बताए ।
६३ लाख ७५ हजार आम्दानी हुने महोत्सवमा ५१ लाख २५ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सवबाट करिब १२ लाख २५ हजार वचत हुने अपेक्षा गरिएको छ । वचत रकमबाट स्थानीय व्यवसायीको क्षमता अभिबृद्धिमा खर्च गरिने अध्यक्ष गुरुङ्ले जानकारी दिए ।
महोत्सवको तयारी स्वरुप स्याङ्जा र पाल्पाको सिमाना राम्दीदेखि स्याङ्जा र कास्कीको सिमाना कुभिण्डे क्षेत्रमा तुलव्यानर टाँगिएको छ । जिल्लाका गाउँ–गाउँका पर्यटकीय क्षेत्र र कला संस्कृतिको जर्गेनामा स्थानीयलाई उत्साहित गरिएको आयोजकले जनाएको छ ।















प्रतिक्रिया