काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिनु भएको छ ।
मन्त्री भएपछि अस्पतालहरुको निरिक्षण गर्ने क्रममा सवै भन्दा पहिला कान्ति अस्पताल पुग्नु भएका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गर्नु भएको थियो ।
सोही अनुरुप उहाँले सोमबार रकम हस्तान्तरण गर्नु भएको मन्त्री थापाको निजि सचिवालयले जनाएको छ ।
उहाँले अस्पतालमा उपचार गर्न आउने सवैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा आफुले सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गर्नु भएको थियो ।
अस्पतालमा क्यान्सर पिडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चीत हुनु पर्ने छैन भन्ने भावनाका साथ शसक्त बनाउन निर्देशन दिनु भएको थियो ।
मन्त्री थापाको निर्देशन अनुसार नै अहिले सम्म कुनैपनि बालबालिका आर्थिक अभावका कारण उपचारबाट बञ्चीत हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताउनु भयो ।
उहाँले २०७२ साल भरीमा पुराना ५८४ जना र नयाँ ४५ जनाको उपचार गरिएको जानकारी दिनुभयो । अंकोलोजी वार्डमा २६ शैया रहेको उहाँले बताउनु भयो ।
सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको कोषमा अहिले चार करोड रुपैया रहेको डा रायमाझीले जानकारी दिनुभयो ।
मन्त्री थापाको सहयोग र समर्थले आफुहरुलाई हौसला बढेको बताउदै उहाँले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गर्नुभयो ।
मन्त्री थापाले कान्ति अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषहरुलाई पनि प्रभावकारी र मजबुद गराउन आग्रह गर्नु भएको छ ।













प्रतिक्रिया