काठमाडौं, ६ मंसिर । तिहार यता राजधानीमा लोडसेडिङ हटाइएपछि करिब १६ अर्ब बराबरको इन्धन बचेको व्यवसायीहरुले बताएका छन ।
उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयमा आयोजना गरेको ‘उर्जा खपत तथा व्यवस्थापन’ विषयेक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
लोडेडिङ हटेपछि उद्योगी व्यवसायीहरुलाई ठूलो राहत मिलेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् । छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लोडसेडिङको अन्त्य गरिएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङक सुनाउनुभयो ।
उहाँले उद्योगहरुमा लोडसेडिङ घटेकोले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासंघले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलहरुबाट बिद्युत उत्पादन गर्न सकिने जानकारी दिनुभयो । अर्का सहभागी ज्ञानेन्द्र लाल प्रधानले समाजमा लोडसेडिङ मानसिक रुपमा समेत हटेको भन्दै ऊर्जा मन्त्रालय तथा बिद्युत प्राधिकरणलाई धन्यवाद दिनुभयो । उहाँले तत्कालका लागि उर्जा व्यवस्थापनमा सुधार गर्नेहो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तर्क गर्नुभयो ।
होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रबन्धकहरुले डिजेल खर्चमा कमी आई होटलहरुलाई ठुलो राहत पुगेको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । उहाँहरुले आवस्यक परेको बेलामा होटेलसँग भएको डिजेल जेनेरेटरमार्फत सरकारलाई विद्युत उपलब्ध गराउन आफुहरु तयार रहेको बताउनु भयो ।
हाउजीङ एसोसिएसनका प्रतिनिधिहरुले नेपाल सरकारलाई आवस्यक परेमा २५÷३० मेगावाट सोलार विद्युत उत्पादन गर्न सकिने जानकारी दिनुभयो । यसको लागि अपार्टमेन्टका छतहरु उपलब्ध गराउन आफुहरु तयार रहेको उहाँहरुले बताउनु भयो ।
नेपाल प्रहरीका प्रतिनिधिले बिद्युत चोरीलाई पनि अन्य चोरीसरह सजायको कानुन बनाएमा प्रहरीले बिद्युत चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो । सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रतिनिधिहरुले नयाँ ब्यारेक बनाउदा अनिबार्य रुपमा सोलार राख्ने गरेको जानकारी दिँदै आफुहरुले उर्जा बचतमा ध्यान पुर्याएको बताउनु भयो ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैका सुझाब, सल्लाह तथा प्रतिबद्दताहरुप्रति आभार व्यक्त गर्दै ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा अपिल गर्नुभयो । छलफल कार्यक्रमको निष्कर्ष पेश गर्दै उर्जामन्त्री जनार्दन शर्माले लोड सेडिङ घटाएपछि देशमा पैंसाको बचत हुनुको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताउनुभयो । जनताको निराशाको अभियानलाई आशामा बदल्ने कार्यमा उर्जामन्त्रालय अहोरात्र लागि परेको बताउनुभयो ।
मन्त्री शर्माले पिक आवरमा विद्युत भार कटौति गर्ने गरी आफु मातहतका कर्मचारीहरुलाई निर्देशन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । “लोडसेडिङ अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्” उहाँले भन्नुभयो “तपाईहरुको सहयोग र सदभावबाट उत्साहित भएर नै हामीले लोडसेडिङ अन्त्यको योजना अघि बढाइरहेका छौं ।”
















प्रतिक्रिया