१९ कार्तिक २०८३, बिहिबार

दुई दिने महिला स्वास्थ्य शिविरमा ४४१ जनाको स्वास्थ्य परीक्षण

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-health-day-1-copy-copy

– अमरराज पुन

रुकुम, ६ मंसिर । रुकुमको पिपल गाविसमा संचालित २ दिने महिला स्वास्थ्य शिविरमा पिपल र आसपासका छिमेकी गाविसका ४४१ महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

शिविरमा महिलाहरुको उमेरगत, जातीगत, आर्थिक, वैवाहिक र शैक्षिक अवस्थाका आधारमा स्वास्थ्य परिक्षण गरिएको महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले बताएको छ । २ दिने महिला स्वास्थ्य शिविरमा महिनावारी गडबढी, रक्तअल्पत्ता, मानसिक तनाव, यौनी संक्रमण, ग्यास्ट्रिक, पाठेघरको संक्रमण लगायतका अन्य रोगहरुको बारेमा निशुल्क उपचार तथा परामर्श गरिएको छ ।

आज मुसिकोटमा गरिएको एक पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त महिला स्वास्थ्य शिविरमा सेवा लिन आउने महिलाहरुमा २४९ जना ब्राह्मण तथा क्षेत्री ११० जना दलित र २० जना जनजाती रहेका छन् । त्यस्तै शिविरमा सेवा लिन आउने महिला मध्ये १५१ जनाको आर्थिक अवस्था मध्यम र २२८ जनाको निम्न रहेको पाईएको छ । शिविरमा स्वास्थ्य अवस्था परिक्षण गर्न आएका दुई जना १० वर्ष मुनिका महिला भने विवाहित रहेको बताईएको छ । २ दिने शिवर सम्पन्न पश्चात् स्वास्थ्य परिक्षण गरेका मध्ये जटिल समस्या भएका १६ जना महिलालाई जिल्ला अस्पत्ताल दाङ्ग रिफर गरिएको छ ।

रिफर गरिएका ती सबैलाई ओरक नेपालले निशुल्क उपचार गरिदिने व्यवस्था गरेको छ । प्रजनन् स्वास्थ्य उमेर समुहका महिलाहरुको शारीरिक अवस्था तथा लैङ्गिक हिंसा र उनीहरुको व्यक्तिगत सरसफाईलाई पहिचान गर्ने उदेश्यले पिपल गाविसमा महिला स्वास्थ्य शिविर संचालन गरिएको ओरेक नेपालले बताएको छ ।

शिविरमा आउने प्रायजसो महिलाहरुले सरसफाईमा ध्यान नदिएको र उनीहरुको शारीरिक अवस्था निकै दयनिय रहेको पाईएको छ । सुत्केरी हुने बित्तिकै घाँसदाउराको काम गर्ने र खानपानमा समेत वेवास्त गर्ने भएकै कारण शिविरमा सेवा लिन आउने महिलाहरुमा विविध समस्या देखिने गरेको जानकारी पाईएको छ । गाउँमा स्वास्थ्य चौकी हुँदा समेत दक्ष स्वास्थयकर्मीको अभावमा उक्त शिविरमा सेवा लिन आउने महिलाहरु विभिन्न रोगबाट ग्रस्त भएको २ दिने शिविर संचालनको क्रममा पत्ता लागेको छ । सम्पन्न शिविरमा सामान्य रोग देखि जटिल समस्याहरुलाई पहिचान गर्ने र निःशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था समेत गर्ने र उक्त कार्यलाई निरन्तरता दिने ओरक नेपालले जानकारी गराएकोे छ । शिविरमा सेवा लिन आउने महिलाहरुको स्वास्थ्य परिक्षण पश्चात् सामान्य रोग भएकाहरुलाई निशुल्क औषधीको समेत व्यवस्था गरिदिएको ओरेक नेपालले बताएको छ ।

महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय सल्याण र स्वास्थ्य चौकी पिपलको समन्वयमा उक्त २ दिने शिविर संचालन सम्पन्न गरिएको हो । पिपलमा बसेको २ दिने शिविरमा ५० जना पुरुषहरुको समेत स्वास्थ्य उपचार गरिएको बताइएको छ । ओरेक नेपालले यसअघि रुकुमको खारा गाविसमा पनि शिविर संचालन मार्फत त्यहाँका महिलाहरुको स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था गरी अहिले पनि निरन्तरता दिंदै आईरहेको जनाएको छ ।