काठमाडौं, ६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा दुई उपप्रधानमन्त्री र कार्यकारी निर्देशकबीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीमाथि काम गर्न नसकेको भन्दै प्रश्न उठाएपछि बैठकमा घम्साघम्सी भएको हो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि निक्कै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत कार्यकारी निर्देशकमाथि खनिएका थिए ।
उपप्रधानमन्त्री निधिले निर्देशक ज्ञवालीलाई अहिलेसम्म भूकम्पपीडितले राहत पाउन नसकेको भन्दै त्यसको जिम्मा तपाईंले लिने कि सरकारले भनेर प्रश्न गरेका थिए । ‘तपाईं असफल बन्नुभयो, प्राधिकरणका महत्वपूर्ण काममा चासो दिनुभएन’, उपप्रधान तथा गृहमन्त्री निधिले बैठकमा भने, ‘अहिलेसम्म भूकम्पपीडितले राहत किन पाएनन् ? जवाफ दिनुहोस्, यसको जिम्मा कसले लिने ?’
जवाफका क्रममा निर्देशक ज्ञवालीले सबै दोष आफूलाई मात्र थोपरेर नहुने भन्दै अर्थ मन्त्रालयबाट आवश्यक रकम समेत नपाएको गुनासो गरेका थिए ।
त्यसलगत्तै अर्थमन्त्री महरासमेत प्राधिकरणले कुनै योजना नै नल्याउने, बजेट नै नमाग्ने अनि अर्थले बजेट दिएन भनेर आरोप लगाउने भनेर ज्ञवालीमाथि खनिएका थिए ।
बैठकमा माओवादी तथा नेपाली कांग्रेसका मन्त्रीहरुले निर्देशक ज्ञवालीले काम गर्न नसकेको भन्दै असफलताको संज्ञा समेत दिएका थिए । तर, बैठकमै प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट उपस्थित भएका पार्टी उपाध्यक्ष भीम रावलले सरकारले नै पुनर्निर्माणसम्बन्धी काममा चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका थिए ।
बैठकमा निक्कै चर्कै विवाद उत्पन्न भएपछि, सम्बन्धित विभिन्न निकायलाई समेटेर एक समन्वय समिति बनाउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका एक जना, अर्थ मन्त्रालयबाट एक जना र प्राधिकरणबाट एक जना रहने गरी समन्वय समिति बनाउने निर्णय भएको छ ।
प्रधानमन्त्री दाहालले यसअघि प्राधिकरणका निर्देशक ज्ञवालीलाई प्राधिकरणको योजनाबारे विस्तृत खाका ल्याउन निर्देशन दिएका थिए ।














प्रतिक्रिया