काठमाडौं, ६ मंसिर । मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए ।
काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए, जतिबेला रकम लिएको मान्छे नै सम्पर्कविहीन भयो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरूलाई अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम असुल्ने व्यक्ति थिए, ललितपुर इमाडोलका मनोजबहादुर सिंह । आफूलाई राजा बाबु र अनुप सिंह जस्ता नामबाट चिनाउने र कोहीलाई पाइलट बताउने, कसैलाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालको उपाध्यक्ष रहेको परिचयपत्र देखाउने सिंह यसअघि पनि वैदेशिक रोजगारीको ठगीको मुद्दामा परेका व्यक्ति हुन् ।
वैदेशिक रोजगार विभागमा परेको ठगी मुद्दामा २०७० साउन २० मा उनले बयान दिएको रेकर्डले देखाउँछ । रामकाजी श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, विष्णु गौतम, कमल गौतम, कृष्णकान्त गौतम, रिसव गौतम र हर्षमान गौतमलाई वैदेशिक रोजगारीमा लगिदिने बहानामा ९३ लाख रुपैयाँ लिएको भन्दै अशोककुमार कारिन्जतविरुद्ध परेको मुद्दामा सिंह तानिएका थिए ।
कारिन्जतले बयानका क्रममा पीडितहरूबाट उठाएको ९३ लाख रुपैयाँ सिंहले लिएको बताएका थिए ।
ठगिएका अधिकांशलाई सिंहले मन्त्री विदेश जाने टोलीमा समावेश गरेर पठाइदिने आश्वासन दिएका थिए । केहीलाई भने दलित कोटामा पारेर ‘सेटिङ’मा अमेरिका पुर्याउने बचन दिएका थिए ।
उनले सेवा र कटवालजस्तै करिब २९ जनाबाट उस्तै प्रकृतिको आश्वासनमा करिब चार करोड रुपैयाँ उनले लिएको खुलेको छ । बडी गार्ड लिएर हिँडने र विभिन्न मन्त्रीसँग आफ्नो सोझो सम्बन्ध रहेको बताउने सिंहले रकम बुझाएकाहरूलाई झुलाउन अनेकन तिकडम रचेको देखिन्छ ।
कतिसम्म भने उनले असार २० मा इमाडोलस्थित एक होटलमा पासपोर्ट वितरण गरिने कार्यक्रम आयोजना हुँदैछ भन्ने व्यहोराका पत्रसमेत तयार पारेका थिए ।
सिद्धिदाता इन्टरप्राइजेजको नामबाट तयार पारिएको उक्त पत्रमा विषय लेखिएको छ, प्रमुख अतिथिको आसन ग्रहण गरी पासपोर्ट वितरण गरिने सम्बन्धमा ।
उक्त पत्रमा तत्कालीन उपप्रधानमन्त्री, श्रम तथा रोजगार मन्त्री र वाणिज्य मन्त्रीको उपस्थिति हुनेसमेत उल्लेख छ ।
कोही आफन्तमार्फत, कोही ज्योतिषमार्फत पीडितहरू मनोजको सम्पर्कमा पुगेको देखिन्छ । खिमबहादुर परियारले सिंहका निकट आकाश लामालाई ३८ लाख रुपैयाँ बुझाएका थिए ।














प्रतिक्रिया