– अमरराज पुन
रुकुम, ५ मंसिर । मु.न.पा.–१, मठ, रुकुम घर भएकी १७ वर्षिया माया बुढाथोकी अहिले घर न बासकी भएकी छन् । १० वर्षको उमेरमै भारतको चमौरी पटेलाबाट उनी बेचिएकी थिईन् । पीडित मायालाई उन्को कान्छो बाबुले भारतमै २/३ लाखमा बेचेर छोडेको बताउँछिन् । गहभरी आँशु झार्दै निकै भावुकतामा बोल्नै नसक्ने मायाँलाई पढ्न र लेख्न समेत आउँदैन । आफू पैंसामा बेचिए लगत्तै जाजरकोटका एक जना व्यक्तिले उद्धार गरेर आफूलाई नेपाल ल्याएको उनको भनाई छ ।
बेचिएकी मायाले आफू उक्त व्यक्तिबाट यौन शोषण र हिंसाबाट निकै पीडामा रहेको सुनाउँछिन् । सामान्य रुपमा मानसिक अवस्थाबाट पीडित बनेकी माया यतिबेला अर्कैको सहारामा बाँच्न बाध्य भएकी छन् । आफूलाई बेच्ने कान्छो बुवाले आफ्ना आमा र भाइलाई समेत बेचेको आशंका गर्ने मायाले ६ वर्ष पहिलेदेखि आफ्नो आमा र भाई पनि सम्पर्कमा नआएको बताइन् ।
आफूबाट अलग्गिएका आमा र भाईलाई खोजिदिन उनले सबैसंग हार गुहार गरेकी छन् । रुकुमबाट सबै परिवार भारत पुग्दा दोस्रो बिहे गरेकी आफ्नो आमातर्फका कान्छो बाबुले नै आफूहरुलाई यस्तो कुकार्य गरेको उनी सुनाउँछिन् ।
भारतबाट जाजरकोटमा आईसकेकी मायालाई जाजरकोटको महिला विकास कार्यालयले रुकुमलाई पत्राचार गरेर रुकुम पठाएको हो । ६ वर्षसम्म जाजरकोटमै बसेकी माया हाल कार्तिक ७ गते रुकुम आएपछि अहिले मु.न.पा. १ मा रहेको जनसेवा महिला विकास आयआर्जन सहकारी संस्थाले हेरिरहेको छ ।
हिंसा पीडित महिलाहरुका लागि अल्पकालिन आवासको व्यवस्था गर्दै आइरहेको उक्त संस्थाको सहयोग र जिल्लास्थित विभिन्न महिला अधिकारकर्मीहरुको पहलमा पीडित मायालाई आज सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमार्फत पीडित मायाको पुनर्स्थापनका लागि जिल्लाका सबै महिला अधिकारकर्मी हरुले विभिन्न सरोकारवाला पक्षलाई आग्रह समेत गरेका छन् । मायाको जन्मिएको घरमा हाल उनको बुवा र आफन्तहरुले मायालाई स्वीकार समेत नगरेकाले उनलाई सबैको रोहबरमा आफ्नै घरमा पुनर्स्थापना गर्ने वातावरण सृजना गर्न आवश्यक रहेको छ । मानसिक हिसाबले समेत ग्रस्त मायाँलाई अब तत्काल आफ्नै घरमा बास बसाल्ने व्यवस्था संग–संगै उनको औषधोउपचारका लागि पनि आवश्यक रहेको सबैले बताएका छन् ।
















प्रतिक्रिया