इलाम, ५ मंसिर । सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अझै पनि पुनःस्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन ।
द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुनःस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ ।
मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ ।
छोटी भन्सार कार्यालय पुनःस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडक हुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् ।
नेपालतर्फ छिर्ने ३०० भन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करले रातको समयमा सामान भित्र्याउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ । – रासस















प्रतिक्रिया