काठमाडौं, ४ मंसिर । नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ ।
भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालीले वैध रूपमा आर्जन गरेको प्रतिबन्धित दरका नोट बैंकिङ प्रणालीमा खिच्ने मोडालिटी बन्दै छ ।
नेपालीलाई निश्चित प्रावधान पूरा गरेर आफ्नो बैंक खातामा २५ हजार भारुसम्म जम्मा गर्न दिने मोडालिटी तयार गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तो मोडालिटी भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने नेपाली अधिकारीको भनाइ छ ।
हाल नेपालका सबै जिल्ला सदरमुकाममा बैंकिङ पहुँच पुगिसकेकाले नजिकको बैंक शाखामा गएर खाता खोल्न लगाउने तयारी राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले वर्षेनी भारतीय श्रमबजारमा पुगेर नेपाल फर्कने दुर्गम इलाकाका नेपालीका लागि ग्राहक पहिचान प्रावधानमा पनि सरलीकरण गरिने बताएको छ ।
‘नो योर कस्टुमर (केवाइसी) अर्थात् आफ्ना ग्राहकलाई चिन’ भन्ने प्रावधानका कारण बैंक खाता खोल्न धेरै मानिसलाई समस्या भएपछि केन्द्रीय बैंकले न्यून आय भएका ग्रामीण क्षेत्रका ग्राहकका लागि सरल केवाइसी फारम व्यवस्था गरेको छ ।
त्यस्तो व्यवस्थाअन्तर्गत नै बैंक खाता खोल्न प्रेरित गरिने कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।
‘अहिले धेरै नेपालीले बैंकमा खाता नखोलेका कारण नगद बोकेर भारतबाट नेपाल आउँदा बाटोमै पैसा लुटिने, हराउनेजस्ता समस्या भोग्नुपरेको छ’, कार्यकारी निर्देशक ढुंगानाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि हामीले भारतीय श्रमबजारमा प्रवेश गर्ने नेपालीलाई बैंकिङ पहुँचमा ल्याउनु आवश्यक छ ।’
अहिले नेपालीहरू बैंक खाता नै नखोली भारत जाँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन नसक्ने समस्या छ ।














प्रतिक्रिया