२ कार्तिक २०८३, सोमबार

गति लिँदै लुम्बिनी गुरुयोजना

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

master-plan– प्रकाश न्यौपाने

भैरहवा, २ मंसिर । सुस्त गतीमा रहेको लुम्बिनी गुरूयोजनाको काम पछिल्लो समय केही चुस्त हुँदै गएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरूयोजनाको ८० प्रतिशत काम सकिन लाग्दा लुम्बिनी घुम्नलायक हुँदै गएको छ ।

जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरूयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको हो । पछिल्ला वर्षमा लुम्बिनी गुरूयोजनाका महत्वपूर्ण संरचनाको निर्माण कार्य धमाधम हुन थालेका छन् । चार भागमा विभाजित लुम्बिनी गुरूयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणको काम करिब सकिएको छ । गुरूयोजनाले उल्लेख गरेअनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोण्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भएकाले आगामी चार वर्षभित्र गुरूयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ । यसका लागी एकमुस्ट ६ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव अजितमान तामाङ्गले बताए ।

पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भएको छ । पवित्र उद्यान क्षेत्रभित्र करिब रू ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी र त्यसको छेउमा आकर्षक मिनी पर्यटक सूचना केन्द्र बनेको छ । यसलाई सिम्बोलिक पेभिलियन नाम दिइएको छ । पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रको व्यवस्था यो पेभिलियनमा छ । लुम्बिनीभित्र यस्ता पेभिलियन आठ जोडी बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि रू. दुई करोड खर्च लाग्ने अनुमान छ । पूर्वी बिहार क्षेत्रमा १३ वटा थेरवाद बुद्ध धर्म मान्ने मुलुकहरूले आकर्षक बिहारको निर्माण कार्य हुँदैछ भने अधिकांश पूरा भएका छन् ।

पश्चिमी बिहार क्षेत्रमा बिहार निर्माणको काम जारी छ । २९ मध्ये २६ वटा मुलुकले बिहार निर्माण गरिरहेका छन् । गुरूयोजनाअनुसार लुम्बिनीमा बन्न लागेका अन्य केही ठूला आयोजनाहरूमा शान्ति स्तुपाको दुवैतिर विशाल खानेपानी ट्याङ्की, फोहोरबाट सञ्चालित बायोग्यास प्लाण्ट, सङ्ग्रहालय शैलीमा आठवटा भवनहरू, अन्तर्राष्ट्रिय मापदण्डका अत्याधुनिक शौचालय आदिको निर्माण हुने कोषले जनाएको छ । लुम्बिनी ग्राममा अहिले प्रशासनिक भवन तथा पर्यटक सूचना केन्द्रको निर्माण गरिएको छ । सञ्चालनमा रहेको सङ्ग्रहालयको शैलीमा यस्ता आठवटा भवन बन्नेछन् । गुरूयोजना क्षेत्रभित्र नौवटा द्वारमा आधुनिक सुरक्षा पोष्टहरूको निर्माण कार्यसमेत सुरू भएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य करिब पूरा भएको छ ।

नयाँ लुम्बिनी ग्राम क्षेत्रमा रू. ३५ करोडको लागतमा अग्लो खानेपानी ट्याङ्की, रू. ३५ करोडकै लागतमा भूमिगत दूरसञ्चार र विद्युत् विस्तार, रू. ३५ करोडकै लागतमा ढल निकासको प्रबन्धसमेत गरिनेछ । वाटर टावर, भूमिगत दूरसञ्चार र विद्युत् बिस्तारको काम आगामी आर्थिक वर्षबाट सुरू हुने गरी तयारी भइरहेको कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले जानकारी दिए । कोषले यी सबै योजना पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तैः सुन्दर, शान्त र पवित्र स्थलका रूपमा विकास हुने दाबी गरेको छ ।

लुम्बिनी विकास कोषको स्थापना भएको २९ वर्ष पूरा भएको छ । कोषमार्फत् खर्च भएको रू. तीन अर्ब ७३ करोड ५७ लाखमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रहरूले लगानी गरेका छन् । खर्च विवरणअनुसार लुम्बिनी गुरूयोजनाभित्र बिहार क्षेत्रमा सबैभन्दा बढी रू. एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा बिहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी बिहार निर्माणका लागि ती मुलुकहरूले रू. ५२ करोड ८० लाख लगानी गरेका छन् । बिहार क्षेत्रमा अझै रू. २२ करोड लगानी हुने अनुमान छ । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रू. ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयुकाइले रू. ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै रू. दुई अर्ब ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरू निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रू. ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि रू. १३ करोड ३७ लाख लगानी भएको छ भने मायादेवी मन्दिर निर्माणका लागि रू. सात करोड लगानी भएको थियो । गुरूयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खनन्का काम गर्न रू. ५२ करोड लाग्ने अनुमान छ । त्यस्तै, लुम्बिनीको मेरूदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रू. २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै रू. २४ करोड खर्च भएको थियो ।

यहाँ गुरूयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापन र पानी ट्याङकी निर्माणका लागि रू. दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ । ८० प्रतिशत काम सम्पन्न हुँदासम्म लुम्बिनी गुरूयोजनाको आकार आइसकेको र लुम्बिनी घुम्न लायक भएको ठहर कोषको छ ।