रुकुम, १ मंसिर । रुकुमको चुन्वाङ्ग गाविसमा पहिलोपटक यात्रुबाहक बस पुग्न सफल भएको छ । मंगलबार बिहान दाङ्गको घोराहीबाट छुटेको सिस्ने हिमाल यातायात समितिको ना ३ ख ८७१३ नं. को यात्रुवाहक बस बेलुकी ५ः३० बजे चुन्वाङ्गको गैरीगाउँ पुगेको हो ।
पहिलोपटक गाउँमा बस पुगेपछि स्थानिय चुन्वाङ्ग बासीले सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितिका सदस्य भुवन भूषाल, बस चालक चुडामणी बिक र बसलाई समेत फूलमाला र अविरले भव्य स्वागत गरेका थिए ।
यात्रुवाहक बस गाविस चुन्वाङ्गमा पुगेसंगै अबदेखि चुन्वाङ्ग–घोराही र घोराही–चुन्वाङ्ग सडक खण्डमा नियमित रुपमा बस संचालन हुने भएको छ । राप्ती यातायात समिति, जलजला यातायात समिति र सिस्ने हिमाल यातायात समितिको त्रिपक्षिय सहमति अनुसार नै उक्त सडक खण्डमा यात्रुबाहक बस संचालनमा आएको हो ।
त्रिपक्षिय सहमति अनुरुप राप्ती यातायातले ५० प्रतिशत, जलजला यातायातले २५ प्रतिशत र सिस्ने हिमाल यातायातले २५ प्रतिशत क्यू लिनेगरी सो सडक खण्डमा यातायातका साधनहरु गुड्ने भएका छन् ।
यसअघि चुन्वाङ्ग बासीहरु यातायात सेवाबाट बञ्चित हुँदा दाङ्गको घोराही जानलाई पनि एक दिनको पैदल यात्रामा रोल्पा जिल्लाको बागमारा सम्म हिंड्नुपर्ने बाध्यता रहेको थियो । पहिलोपटक गाउँमै बस पुग्दा अब गाउँघरमा उत्पादन हुने सामग्री निर्यात संगै आवात–जावतमा समेत सजिलो हुने भएकोले विगतका कठिनपुर्ण समस्याहरु अबका दिनमा सहज हुने अनुमान गरिएको छ ।
भौगोलिक हिसाबले विकट मानिएको चुन्वाङ्गमा यातायात सेवा सुचारु भएसंगै आगामी दिनमा बाह्य तथा आन्तरिक पर्यटकहरु समेत भित्रयाउन सकिने त्यहाँका स्थानियहरुले बताएका छन् । रोल्पा जिल्लाको सिमाना संगै जोडिएको रुकुमको चुन्वाङ्ग जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा अवस्थित एक पर्यटकिय गाविस हो ।
विगतको १० बर्षे सशस्त्र जनयुद्धको बेला रुकुमको चुनवाङ्ग निकै चर्चामा आउने गरेको थियो । तत्कालिन नेकपा माओवादी र सरकारबिचको दोस्रो बृहत शान्ति सम्झौता हुँदा नेकपा माओवादीको महत्वपुर्ण बैठक समेत गाविस चुन्वाङ्गमा सम्पन्न भएको थियो । सोही सम्पन्न बैठकपछि मात्रै नेकपा माओवादी शान्ति प्रक्रियामा आएको थियो भने लामो समय सम्म जारी सशस्त्र संघर्ष पनि त्यसै बैठक पछि अन्त्य भएको थियो ।
पटक–पटक माओवादीको नेतृत्वमा सरकार संचालन भएपनि नेकपा माओवादीले चुन्वाङ्ग गाविसलाई विकास र अन्य सन्र्दभमा उपेक्षा गरेको भन्दै आम चुन्वाङ्गबासीले थुप्रै गुनासो गर्ने गरेका थिए ।













प्रतिक्रिया