२ कार्तिक २०८३, सोमबार

डोटीमा स्थानीय युवा पहिलो पटक हेयर कटिङ् व्यवसायमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashok-hair-cutting– झलक पाली

डोटी, २८ कात्तिक । डोटी जिल्ला सदरमुकाम सिलगढीमा एक स्थानीय युवाले जिल्लाकै ईतिहासमा पहिलो पटक हेयर कटिङ् व्यवसायको शुरुवात गरेर नमूना बनेका छन् ।

सिलगढीका स्थानीय २० वर्षे युवा अशोक वि.क.ले जिल्ला प्रहरी कार्यालय डोटी नजिकै रहेको प्रहरी ब्यारिअलको छेउमा व्यवसाय शुरु गरेका हुन् ।

कक्षा १२ मा पढ्दै गरेका अशोकले यहि कार्तिक २१ गतेबाट मात्रै व्यवसाय शुरुवात गरेका छन् । अहिले उनको हेयर कटिङ् शैलुनमा दैनिक सरदर २० जना ग्राहक आईरहेको उनले बताए ।

भारत घर भएका चमन अन्सारीको सिलगढीमै रहेको मस्तान हेयर शैलुनमा करिब ८ महिनासम्म काम गरेर सिप सिकेका उनले झण्डै ६० हजारको लगानी लगाएर मासिक १ हजार ५ सयका दरले एक टिनको खोका भाडामा लिएर व्यवसाय शुरुवात गरेका हुन् ।

प्रति ग्राहक कपाल काटेको ५० रुपैंया र दाह्री काटेको ४० रुपैंया पाईने गरेको उनले बताए । जस अनुसार उनले दैनिक सरदर एक हजार रुपैंया बचत गरिरहेका छन् ।

पुख्र्यौली नवलपरासीको भार्तीपुर–७ घर भई उनका बुबा मोतीराम वि.क. कामको (मिस्त्री) शिलशिलामा माईती ठाउँ सिलगढीमा आएका थिए । उनिहरु करिब १४ वर्षदेखि सिलगढीमै बस्दै आएका छन् ।

अहिलेको शिक्षाबाट सहजै रोजगारी पाउन नसकिने र कामको खोजिमा भारत या विदेश चाहारिनु पर्ने अवस्थामा स्थानीय तवरमै व्यवसाय गर्न सकिन्छ भन्ने सोचाईका साथ हेयर कटिङ् व्यवसायमा लागेको उनले बताए ।

बुबाको अवस्था कमजोर रहेको र आफु जेठो छोरो भएकाले जिवन निर्वाह गर्न आर्थिक आर्जनको जिम्मेवारी काँधमा आएको महशुस गरेर व्यवसायमा लागेको उनि सुनाउँछन् ।

उनकी आमाले कडा श्रमजन्य काम गर्दै घर खर्च चलाउँदै आएकि थिईन् । अब आमालाई पनि ठूलो सहयोग पुग्ने अशोकको विश्वास छ ।

उनका भाई गोबिन्द वि.क. पनि दाजुसँगै सोहि सिप सिकिरहेका छन् । केहि समय यता स्थानीय त्रिवेणी एफ.एम.मा काम गर्दै आएका गोबिन्द पनि कक्षा १२ मै पढ्छन् । उनकी बहिनी अश्मिता अहिले कक्षा ९ मा पढ्छिन् । सबै पारिवारिक खर्च चलाउन अब सहज हुने निश्चित देखिन्छ ।

प्राय सबै डिजाईनमा हेयर कटिङ् गर्न सिकीसकेका अशोकले अब यसै व्यवसायलाई आधुनिकीकरण गर्दै लैजाने अठोट गरेका छन् ।

अशोक र उनका भाई गोविन्द नृत्यमा पनि विशेष दखल राख्दछन् भने गोबिन्दले क्यारीक्याचरमा समेत दखल राख्दछन् ।

सिलगढीमा रहेको राणाकालिन दरबार हाल सिलगढीका स्थानीय सँस्कार अमात्यको नाममा रहेको मुलढोकाको संरक्षण तथा हेरचाहको जिम्मेवारी लिएवाफत ५ सदस्यीय परिवार निशुल्क रुपमा डेरा गरि बस्दै आएका छन् ।

‘गरे सबै सम्भव’ छ भन्ने मान्यताका अशोकले शुरुवात गरेको हेयर कटिङ् व्यवसायको सम्मान गर्दै कपाल काट्न पुगेका सानागाउँ गाविसका गणेश कोलीले खुशी व्यक्त गरे । अशोकले शुरुवात गरेको कामको गाउँ–गाउँसम्म अनुकरण भईदिए राम्रो हुने उनले बताए ।

सिलगढीमा एउटा मात्रै व्यवसायिक शैलुन भएकाले निकै समय लाईन बस्नुपर्ने र कहिले काहिं आधा घण्टाको यात्रा गरेर दिपायल पुग्नुपर्ने बाध्यता रहेको थियो । उनको यस व्यवसाय शुरुवातसङ्गै यो बाध्यता पनि टर्ने देखिन्छ ।

यसभन्दा पहिले जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायले हेयर कटिङ्का लागि तालिमहरु दिईसकेको भए पनि व्यवसाय शुरुवात भने कसैले पनि गरेका थिएनन् ।

यस्तो उदाहरणीय काम गर्ने जो कोहिले योजना सहित नगरपालीकामा आएमा सहयोग गर्न आफुहरु तयार रहेको दिपायल सिलगढी नगरपालीकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद जोशीले बताए ।