२ कार्तिक २०८३, सोमबार

‘नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण गरिने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nalsingad

जाजरकोट, २१ कात्तिक । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताउनुभएको छ ।

नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आज दल्लीमा आयोजित कार्यक्रममा उहाँले सो आयोजना सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताउनुभयो । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उहाँले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेशन गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । ऊर्जामन्त्री शर्माले आजै आयोजनास्थलको स्थलगत निरीक्षणसमेत गर्नुभएको छ ।

मुलुकका ९३ वटा जलाशययुक्त आयोजनामध्ये नलसिङगाड उत्कृष्ट भएको सो आयोजनाका कार्यकारी निर्देशक मोतीकुमार कुँवरले बताउनुभयो । सन् २०१२ को प्रारम्भिक अध्ययनअनुसार ४१० मेगावाट क्षमताको सो आयोजना रु ७३ अर्ब ७३ करोड ९० लाखको लागतमा निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

आयोजनाअन्तर्गत सक्ला–१ अँधेरी खोलामा ६ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको २०० मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधदेखि खगेनकोट गाविसको काँडादल्लीसम्म कुल आठ हजार २१५ मिटर लामो सुरुङ निर्माण गरिने छ । रासस