काठमाडौं, २१ कात्तिक । पुनःनिर्माण कार्य सम्पन्न गरिएको त्रिभुवन सदनमा राखिने सामग्रीको खोजी कार्य थालिएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले त्रिभुवन सदनको भित्री स्वरूप पनि साबिकको बनाउने प्रयास गर्न लागिएको जानकारी दिँदै भने, ‘घटनाका बखत त्यहाँ भएका सामग्री केही फेला परेका छन् र केही बेपत्ता पारिएका छन् । खोजी कार्य थालेका छौँ । त्रिभुवन सदनको भित्री स्वरूपलाई सक्दो दुरुस्त बनाउने प्रयासमा छौँ ।’ गोरखापत्र दैनिकले समाचार छापेको छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाह २०५९ साल असारको तेस्रो सातामा नारायणहिटी दरबारमा सरेका थिए । उनले चर्चित दरबार हत्याकाण्ड भएको स्थल त्रिभुवन सदनमै २०६० सालमा सप्ताह लगाएका थिए ।
सप्ताह लगाइएपछि त्रिभुवन सदनलाई भत्काइएको थियो ।
दरबारभित्रका कुनै पनि सामग्री बाहिर ल्याउन नमिल्ने परम्परा भएकाले भत्काइएको त्रिभुवन सदनको इँटालाई हाल राहदानी विभाग रहेको भवनको उत्तरतर्फको फरासखानासँगैको जमिनमा पुरिएको थियो ।
त्यसबेला त्रिभुवन सदनभित्रका केही सामग्री जलाइए, केही निर्मल निवास लगिए, केही भण्डारमा थन्क्याइए र केही नारायणहिटी दरबारमा राखिए । केहीको भने अत्तोपत्तो छैन ।
करिब तीन करोड रुपियाँ खर्चिएर पुनःनिर्माण गरिएको त्रिभुवन सदनलाई रङ्गरोगन गर्ने, मार्बल राख्ने, बिजुलीबत्ती जडान गर्ने लगायतका कार्य पूरा गरिएको छ ।
त्रिभुवन सदनभित्रको साबिकको स्वरूपमा सामग्री राख्न मात्र बाँकी छ । ती सामग्री खोजी गर्न सङ्ग्रहालयका उपसचिव अद्वैतप्रकाश श्रेष्ठको संयोजकत्वमा खोजबिनसम्बन्धी टोली गठन गरिएको छ ।
उपसचिव श्रेष्ठले केही सामग्री फेला परेको र केही सामग्रीको अवस्था अज्ञात भएको जानकारी दिँदै भने, ‘छिटै सबै सामग्री जुटाउने प्रयासमा छौँ । कतिपय सामग्री उपलब्ध हुनसक्ने सम्भावना छैन ।’
नारायणहिटी दरबारमा पुगेका अवलोकनकर्ता अधिकांशले त्रिभुवन सदन देख्न नपाउँदा निराश हुनेगरेका छन् । अवलोकनकर्ताको कौतुहल मेटाउन नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले एक वर्षअघि त्रिभुवन सदनको पुनःनिर्माण कार्य थालेको हो ।
सङ्ग्रहालयका उपसचिव श्रेष्ठका अनुसार त्रिभुवन सदनमा रहेकामध्ये पाँच जोर सोफा नारायणहिटी दरबारको सिरहा कक्षमा, त्रिभुवन सदनको शौचालयसँगैको टेबुल नानीगन्जको हलमा, दराज धनुषा कक्षमा, त्रिभुवन सदनको बाहिर रहेको बेतको कुर्सी र दुई जोर सोफा जाजरकोट कक्षमा रहेको जानकारी दिए ।
त्रिभुवन सदनमा रहेको घिउ रङको गलैँचा फेला पर्न सकेको छैन । गलैँचा पखाल्दा रगतको दाग नगएपछि त्यसलाई लुकाइएको दरबारका कर्मचारीहरू बताउँछन् ।
सङ्ग्रहालय प्रमुख ढुङ्गानाले हरियो, खैरो र घिउ रङका पर्दा रहेको र ती कुनै पनि फेला पार्न सकिने अवस्था नरहेको बताउँदै त्यहाँ रहेको त्रिभुवनको प्रतिमा पनि खोजी भइरहेको बताए ।
बिलियार्ड टेबुल कहाँ पुर्याइयो भन्ने थाहा हुन सकेको छैन । बिलियार्डको खुट्टा भने फेला पारिएको छ । त्रिभुवन सदनमा रहेको १४ इन्चको गोल्डस्टार टेलिभिजनको पनि अवस्था अज्ञात छ ।
राजा त्रिभुवनको परिवारसहितको तस्बिर पनि फेला पर्न सकेको छैन । पृथ्वीवीरविक्रम शाहका पत्नी र आमाको तस्बिर भने फेला परेको छ ।
त्रिभुवन सदनसँगै रहेको दीपेन्द्र शाहको घर पनि भत्काइएको छ र उनको ओछ्यान तथा केही सामग्री त्यतिबेलै जलाइएको दरबारका कर्मचारीहरू बताउँछन् ।















प्रतिक्रिया