जनकपुर, २० कात्तिक । अत्यन्त व्यस्त कार्यतालिकाबीच तीनदिने नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरमा करिब दुई घन्टा बिताए ।
निर्धारित समयभन्दा एक घन्टा ढिलो मध्याह्न ११ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट जनकपुर उत्रिएका मुखर्जी दिउँसो साढे एक बजे सोही विमानबाट पोखरातर्फ उडे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
करिब दुई घन्टा बसाइका क्रममा राष्ट्रपति मुखर्जीले रामजानकी मन्दिरमा पूजाअर्चना गरे भने नागरिक अभिनन्दन ग्रहण गरे ।
मुखर्जीले पूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ रहेको बताएका छन् । भारतीय सेनामा काम गरेर निवृत्त भएका पूर्वसैनिक र तिनका परिवारलाई सम्बोधन गर्दै उनले राष्ट्र निर्माणसँगै नेपाल–भारतको सम्बन्ध सुधार्ने काममा लाग्न उपस्थित सबैलाई आग्रहसमेत गरे ।
उनले आफू भारतीय सेनाको सर्वाेच्च कमान्डरको हैसियतले वीर गोर्खाली सैनिकको अगाडि पोखरामा आएर बोल्न पाउँदा आफूमा गौरवको अनुभूति भएको बताए ।
प्राचीन कालदेखि नेपाल र भारतबीच घनिष्ठ, बहुमुखी, सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको बताउँदै उनले यो चिरकारसम्म निरन्तर रहने कामनासमेत गरे । हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र एक लाख २६ हजार सेवानिवृत्त भएको उनले बताए ।
‘नेपाल र भारतको निकटतम् सम्बन्धको आधारस्तम्भ खुला सिमाना, चाडपर्व, रीतिरिवाज मात्रै होइन, भारतमा रहेका नेपाली वीर सैनिकको माया हो,’ मुखर्जीले भने । नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सरकार सधैँ तयार रहेको उनको भनाइ थियो ।
के छ मुखर्जीको विज्ञप्तिमा ? मैले नेपाल सरकार र नेपाली जनताबाट अत्यधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ । मैले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सबै राजनीतिक पक्ष र नागरिक समाजका व्यक्तित्वसँग उपयोगी छलफल गरेँ ।
जसमा मैले नेपाली जनता र सरकारको प्राथमिकताका सबै क्षेत्रमा साझेदारी गर्ने भारतको वचनबद्धता सुनाएको छु । मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका लागि आग्रह गरेको छु, उहाँले स्वीकार गर्नुभएको छ । मेरो नेपाल भ्रमण मित्रताको मिसन भएको छ ।
नेपालसँगको विशिष्ट सम्बन्ध थप सुदृढ गर्ने भारतको चाहनालाई मेरो भ्रमणले प्रतिबिम्बित गरेको छ । नेपालको शान्ति, स्थायित्व र विकासमा सहयोग गर्न भारत प्रतिबद्ध छ । हाम्रो सम्बन्ध दुवै जनताको साझा हितका सन्दर्भमा थप सुदृढ हुने अपेक्षा लिएको छु ।















प्रतिक्रिया