– गणेश गिरी
पर्वत, १४ कात्तिक । काठमाडौंबाट मुस्ताङ गएर फर्केका १८ बर्षिया विवेक थापा मुस्ताङको दृश्यबाट निकै प्रभावित भएको सुनाए । म्याग्दीको बेगखोलामा भेटिएका थापाले चलचित्रमा मुस्ताङको दृश्य हेरेकै भरमा आफू मुस्ताङ गएको बताए । ‘फिल्ममा हेरेको भन्दा अझै डेन्जर रैछ’ थापासंगै मोटरसाइकलमा मुस्ताङ गएर फर्कदै गरेका अमित हमालले भने– ‘जीवनमा एक पटक मुस्ताङ भने पुग्नै पर्दो रैछ ।’ निकै कष्टकर र जोखिमपूर्ण सडक यात्रा गरेर मुस्ताङबाट फर्केका अधिकांश युवाहरुले मुस्ताङको दृश्य चलचित्रको पर्दा र गुगलमा देखेकै भरमा आफूहरु मुस्ताङ यात्रामा निस्केको बताउँछन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको तथ्यांक अनुसार बर्षात पछिको यो सिजनमा मात्रै पाँच हजार भन्दा बढि मोटरसाइकलमा युवायुवतीहरु मुस्ताङ भ्रमणका लागि जिल्लामा भित्रिएका छन । ‘यो सिजनमा मुस्ताङ घुम्न आउनेमा युवाहरुको संख्या ठूलो छ’ प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी भन्छन– ‘सडक यात्रा अप्ठयारो भएपनि सहज ढङगले युवाहरु मोटरसाइकलमा मुस्ताङ आएका छन ।’ बाटोमा मोटरसाइकलकको मर्मत गर्ने पसलहरु नभएपनि मुस्ताङ मोहमा युवाहरु जोखिम मोलेरै मुस्ताङ पुग्ने गरेका छन ।

‘माटोको शहर हेर्दा निकै रमाइलो भयो’ मुस्ताङ गएर फर्केका पर्वतको कुश्माका प्रदीप गिरी थप्छन– ‘प्रेम गीत फिल्म हेरेको भएर म मु्स्ताङ गएको हुँ ।’ अत्याधुनिक क्यामराबाट निकै मनमोहक दृश्य चलचित्रहरुमा देखाउँदा उक्त चलचित्र हेरेका अधिकांश युवाहरु यति बेला मुस्ताङ यात्रामा छन । ने प्रेम गीत, किस्मत २, कवडडी, कागवेनी लगाएतका चलचित्रहरुमा मुस्ताङका मनमोक दृश्यहरु देखाइएको छ । मंसीर महिना पछि चिसोका कारण यात्रा कठिन हुने र यो मौसम अनुकुल भएका कारण पनि स्वदेशी पर्यटकहरुको संख्या मुस्ताङमा ठूलो छ । केहि युवाहरु केपी ओली सरकारको बेला निकै चर्चित बनेको कोरला नाका पुग्नका लागि समेत यो पटक मुस्ताङ गएका छन । उपल्लो मुस्ताङको लोमाङथान, मुक्तिनाथ मन्दिर, कागवेनीधाम लगाएतका स्थानहरुका कारण पनि मुस्ताङमा यात्रा गर्नेको संख्या निकै ठूलो छ ।

मुस्ताङका होटलहरुमा सहज बास पाउन समस्या परेको छ भने, पर्वतको कुश्मा र म्याग्दीको वेनीका होटलहरु समेत बुकिङ भएका छन । पोखरा बागलुङ राजमार्गसंगै कुश्माको साझा चोकमा रहेको होटल बन्दनाका सञ्चालक कृष्ण श्रेष्ठले एकै दिन मुस्ताङ हिडेका ३ सय भन्दा बढिलाई खाना खुवाएको अनुभव सुनाउँदै भन्छन– ‘धेरै ग्राहकहरु होटलको कोठा नपाएर फर्काउनु परेको छ ।’ अव तिहार पर्व शुरु हुन लागेका कारण केहि संख्या घटेपनि तिहार लगतै मंसीरको दोस्रो हप्तासम्म मुस्ताङ जानेहरुका कारण आफनो होटल बुकिङ भईरहने म्याग्दीको वेनीमा रहेको होटल डल्फीनका सञ्चालक हरीकृष्ण श्रेष्ठ बताउँछन ।
मुस्ताङ जानेमा युवाहरुको संख्या नै धेरै रहेको भन्दै मुस्ताङ सवैले एक पटक घुम्न पर्ने जिल्लाको रुपमा सुचिकृत भएको श्रेष्ठले बताए । मुस्ताङ जानका लागि पोखराबाट पर्वतको कुश्मा हुँदै म्याग्दीको वेनीबाट पुग्न सकिन्छ । पोखरा देखि ५७ किलोमिटर यात्रामा कुश्मा पुगिन्छ भने कुश्मा देखि २६ किलोमिटरको यात्रामा वेनी पुगिन्छ । बेनीबाट कच्चि सडक ७६ किलोमिटर यात्रापछि मुस्ताङको सदरमुकाम जोमसोम पुगिन्छ । धार्मिक रुपमा मुक्तिनाथ, कागवेनी र ऐतिहासिक रुपमा लोमाङथान निकै चर्चित छन ।



















प्रतिक्रिया