काठमाडौं । बेलायतमा बस्दै आउनुभएका श्रष्टा सुमल कुमार गुरुङले लेख्नुभएको दुई कृति आज विमोचन गरिएको छ ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले नेपाल खोज्दैछु (कविता संग्रह) र फेरि हङकङ सेरोफेरो (यात्रा संस्मरण) पुस्तक विमोचन गर्नुभएको हो ।
साहित्यकार, कवि तथा लेखक गुरुङको यो पाँचौ र छैटौ कृति हो । यसअघि उहाँले नियात्रा, कथा, कतिा संग्रह प्रकाशनमा ल्याइसक्नुभएको छ । उहाँले अतीतको आँखिझ्यालभित्र नियाल्दा (२०७१) नामक संस्मरण, मेजर अर्जुनको औँठी (कथा संग्रह) २०६९, युरोप यात्राका अनुभूतिहरु (२०६८) नियात्रा, प्रकाशन गरिसक्नुभएको छ । उहाँको लेखन यात्रा १९९२ देखि सुरुवात भएको हो ।
साहित्यकार गुरुङको साहित्य यात्राबारे टिप्पणी गर्दै मन्त्री गुरुङले तमूको छोराले दोस्रो भाषामा समेत साहित्य सिर्जना गर्नु नेपाली साहित्यका लागि सुखद पक्ष रहेको बताउनुभयो ।
आफ्नो मातृभाषा नभएपनि नेपाली भाषामा साहित्य सिर्जना गर्नु त्यति सहज नभएको भन्दै समीक्षक प्राडा खगेन्द्रप्रसाद लुइँटेल अहिले नेपाली भाषा संरक्षणका लागि गुरुङको कृतिले मद्दत गर्ने बताउनुभयो । ‘केही व्यक्ति भाषा बिगार्ने काममा लागेका छन्, भाषाको संरक्षण गर्न जरुरी छ’ प्राडा लुईटेलले भन्नुभयो ।
यात्रा संस्मरणबारे समीक्षा गर्दै प्राज्ञ भाउपन्थीले गुरुङको लेखनबाट नेपाली साहित्य विधामा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकारको परिचय दिनेसम्मको काम राज्यबाट नभएको दुःखेसो पोख्नुभयो । साहित्यकारको परिचयलाई स्वीकार्दै सेवा सुविधामा समेत सरकारले ध्यानदिनुपर्ने अध्यक्ष लेकालीको भनाइ थियो ।
लेखक गुरुङले पाठक र शुभेच्छुकहरुको प्रतिक्रियापछि साहित्य लेखन कार्यमा थप जोश आएको भन्दै आगामी दिनमा थप स्तरीय सिर्जना पाठकसामु पस्कने प्रतिवद्धता जनाउनुभयो । उहाँले १९९२ देखि निरन्तर लेख्दै आउनुभएको छ ।
प्रकाशित कृतिबारे मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार माया ठकुरी, प्रकाशक सारा गुरूङ लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
















प्रतिक्रिया