काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भित्री सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आउने भएका छन् । मुखर्जीसंगै ७० जनाको टोली नेपाल भ्रमणमा कात्तिक १७ मा आउंदैछन् । उनी नेपाल भ्रमणमा आउंदा उनीसंगै आधुनिक हतियारसहितको भारतीय सुरक्षाकर्मीको टोली समेत आउदैछ ।
गृहमन्त्रालयले तीनदिने नेपाल बसाइका क्रममा सुरक्षा प्रबन्धका लागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सहितको संयुक्त परिचालन सम्बन्धी सुरक्षा रणनीति बनाइसकेको छ ।
गृह मन्त्रालयले मुखर्जीकमो भित्री सुरक्षामा नेपाली सेना परिचालन गर्नेगरी अति विशिष्ट ब्यक्तिको सुरक्षामा अपनाइने ‘क’ वर्गको सुरक्षा रणनीति बनाइसकेको छ । नेपालले आफ्नो तर्फबाट सबै सुरक्षा तयारी गरे पनि मुखर्जीको सुरक्षाका लागि भित्री घेरामा नेपाली सेनासंगै भारतीय सुरक्षाकर्मी समेत खटिने जानकारस्रोतले बतायो ।
‘राष्ट्रपती मुखर्जी आउंदा उनीसंगै भारतीय सुरक्षाकर्मी समेत आउने जानकारी आएको छ,’जानकारस्रोतले भन्यो‘हाम्रो तर्फबाट भित्री घेराको सुरक्षामा सेना खटिनेगरी सुरक्षा रणनीति बनिसकेको छ ।’
जानकारस्रोतका अनुसार भारतीय सुरक्षाकर्मी आउंदा ‘कोल्ट’ र ब्रिफकेस हतियार समेत संगै ल्याउने छन् । एसएमजीझै शक्तिशाली कोल्ट सानो आकारको हुंदा सुरक्षामा खटिने सादा पोशकका सुरक्षाकर्मीले कोटभित्रै सहजै लुकाएर बोक्न सक्छन् । नेपाली सेनाले समेत भिभिआइपीको सुरक्षामा खटिदा ब्रिफकेस आकारको हतियार बोक्छन् ।
केही दिन अगाडि दिल्लीका एआइजीको नेतृत्वमा भ्रमणको तयारी र सुरक्षा अवस्थाबारे रेकी गर्न भारतीय सुरक्षाकर्मीको टोलीनै नेपाल आएको थियो । नेपाल आएको टोली भ्रमणतयारीबारे अनुगमन गरेर फर्किसकेको छ । सो टोलीले काठमाडौं, पोखरा र जनकपुर पुगेर सुरक्षा अनुगमन गरेको थियो । सोही टोलीले मुखर्जीसंगै केही भारतीय सुरक्षाकर्मी समेत आउने जानकारी दिएको स्रोतले बतायो ।
‘नेपाली सेना सहित सबै सुरक्षा संगठन परिचालीत हुनेगरी सुरक्षा प्रवन्ध गर्न सबै तयारी सकिइसकेको छ,’ गृह प्रवक्ता बालकृष्ण पन्थीले भने‘ पोखरा र जनकपुरमा स्थानीय सुरक्षा सुरक्षा समितिले सुरक्षाको तयारी गरेको छ, केन्द्रमा मन्त्रालयलेनै यसको नेतृत्व गरिरहेको छ ।’
कार भारतबाटै आउने
मुखर्जीले नेपाल भ्रमणमा प्रयोग गर्ने बुलेट प्रुफ गाडि भारतबाटै आउने छ । स्रोतका अनुसार भारतले काठमाडौं, पोखरा र जनकपुरमा प्रयोग गर्न तीन वटा बुलेटप्रुफ गाडि पठाउंदै छ ।
उनीसंगै आउने भ्रमण टोलीका सदस्यको सवारी प्रवन्ध भने गृह मन्त्रालयले गर्दैछ । मन्त्रालयका प्रवक्ता पन्थीका अनुसार भ्रमण टोलीका सदस्यका लागी आवश्यक पर्ने सवारीको प्रवन्ध भइसकेको छ ।
‘अहिलेसम्म खुलेको संख्या अनुसारकै भ्रमण टोली भए गृहसंग रहेको सवारीले नै पुग्छ,’ पन्थीले भने‘ सदस्य संख्या बढे केही सवारीसाधन भाडामा लिनुपर्ने हुनसक्छ ।’
कान्तिपुर दैनिकमा समाचार छ ।
















प्रतिक्रिया