१ कार्तिक २०८३, शनिबार

सल्यानमा पानी घट्टबाट मनग्य आम्दानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pani-ghattaसल्यान, १३ कात्तिक । सल्यान जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला–८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।

रोजगारीका लागि युवाहरू गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भए पनि आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमार्इँले बताउनुभयो । ‘सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हुँदैन भनेर गैरदलितहरू आउँदैनथे तर जनचेतनाको कारणले हो या मेरो घट्टले पिसेको पिठो राम्रो भएकाले हो आजभोलि सबै मेरै घट्टमा आउने गर्छन्’, उहाँले भन्नुभयो ।

हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने उहाँले बताउनुभयो । पन्ध्र वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनुभएका दमाईँले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनुभएको छ ।

उहाँ दैनिक चारदेखि छ मुरीसम्म अन्न पिँध्नुहुन्छ र प्रतिपाथी एक मानाका दरले ज्याला लिने गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘दिनमा पाँच छ मुरी अन्न पिस्छु, जसबाट दैनिक सात आठ पाथी अन्न आउँछ, त्यो भनेको मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।’ घट्टकै आम्दानीले उहाँले आफ्नो पाँच जनाको परिवारलाई पाल्दै आउनुभएको छ ।