१ कार्तिक २०८३, आइतबार

‘किम्फ’ मंसिर २३ देखि २७ सम्म आयोजना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kimff-logoकाठमाडौं । काठमाण्डू इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) यसपालि ८ देखि १२ डिसेम्बर (२३–२७ मंसिर) सम्म पहिलेझैँ क्यूएफएक्स कुमारी हल कमलपोखरीमा आयोजना गरिँदैछ ।

कुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेशन फिल्महरु देखाइने यस महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्महरु प्रदर्शित हुनेछन् ।

पपकर्न पिक्चर्ससँग किम्फको सहकार्यमा दीपक रौनियारद्वारा निर्देशित ‘सेतो सूर्य’ को नेपाली प्रिमियरबाट महोत्सवको उद्घाटन हुनेछ ।

८८ मिनेट लामो उक्त सिनेमा एउटा परिवारका कथामा आधारित छ । तिनीहरु नेपालमा द्वन्द्वपश्चात्आएको सामाजिक–राजनीतिक परिवर्तनको परिदृश्यमा सहमतिको बिन्दु भेट्न संघर्षरत छन् ।

“यो दीपकका लागि आफ्नो घर फर्किए जस्तै हो । यसअघिका महोत्सवमा उनका चौकठ र पूजा प्रदर्शित भइसकेका छन्।” महोत्सव निर्देशक रम्यता लिम्बू भन्नुहुन्छ, “दीपकको सिनेमाप्रतिको उत्साहलाई हामीले महसुस गरेकोमा हामी गौरवान्वित छौं । साथै, खुशी छौं कि सिर्जनात्मक र भरोसायोग्य नेपाली सिनेमाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पु-याउन हामी सेतु बन्न सक्यौँ ।”

सेतो सूर्यको प्रिमियर प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियोभने यो चलचित्र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरियामा पनि प्रदर्शन गरिएको थियो । यसैगरी यो चलचित्र संसारभरिका प्रतिष्ठित दुई दर्जनभन्दा बढी चलचित्र महोत्सवमा पनि प्रदर्शन हुनेछ ।

यस वर्ष अलायन्स फर सोसल डायलग (एएसडी) र किम्फको आयोजनामा ‘स्ट्रेन्थेनिङ नेपाल्स पब्लिक सर्भिसेज’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ ।

साथै लोकप्रिय नेपाली पानोरामामा नेपाली प्रतिभाहरुद्वारा निर्मित रोचक फिल्महरु देखाइनेछन् । हिमाल एसोसिएसनद्वारा आयोजित तथा नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित किम्फमा प्रदर्शन हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत २० वटा फिल्महरु छन्भने अन्यमा ४८ वटा फिल्महरु छन् ।

नेपाली पानोरामामा १६ वटा फिल्महरु देखाइनेछन्, जसमध्ये किम्फ डक ल्याबबाट चारवटा फिल्महरु सामेल हुनेछन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीनवटाले क्रमशः पन्ध्र सय, एक हजार र पाँच सय अमेरिकी डलर पाउनेछन्भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र नन–फिक्सन विधामा उत्कृष्ट ठहरिएका दुईलाई जनही नेपाली पचास हजार नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ पाउनेछ ।

चलचित्रकर्मी, चलचित्रअनुरागी, समीक्षक, विद्वान्, पत्रकार, कलाकार र पर्वतारोहीहरुको उपस्थितिमा हुने उक्त महोत्सवका आकर्षणहरु छलफल, अतिथि प्रवचन, प्रदर्शनी र प्रतिस्थापन कला प्रदर्शन हुनेछन् ।