उदयपुर, १० कात्तिक । निर्माणधीन धरान–चतरा–गाईघाट–कटारी हुँदै हेटौँडा सडक निर्माण अन्तर्गत उदयपुरको पंचावती गाविस– ४ स्थित गयाँमा स्थानीयहरुले सडक निर्माणमा पुनः अबरोध सृजना गरेका छन् ।
दुई दिनअघि पनि पंचावती–५ मा स्थानीयले निर्माणका लागि पुगेको जेसिभि फर्काए । मंगलबार कटारी–रिस्कु–सोमबारे हुँदै पंचावती गाविसको गयाँमा सडक खन्न पुगेको जेसिभिलाई स्थानीयले पनि रोक लगाइदिएका छन् ।
सडक योजना सर्भे हुँदाको समयमा योजना एकातिर भए पनि निर्माणको चरणमा आइपुग्दा अर्को तर्फबाट सडक निर्माण कार्य अघि बढाउने प्रयास गरेपछि स्थानीय आक्रोसित हुँदै सडक निर्माण अबरुद्ध बनाएका हुन् ।
उनीहरुले दशै अगाडि पनि स्थानीय अमृतधोज राईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा पुरानै सर्भे अनुसार सडक निर्माणको लागि ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरुले आफूहरूको मागको सुनुवाई नभए त्यसको कडा प्रतिवाद गर्ने बताउँदै आएका छन् ।
शनिवार उक्त स्थानमा सडक निर्माणको लागि पुगेको सडक डिभिजनका जेसिभिलाई उक्त स्थानमा ट्रयाकनै खोल्न नदिई फर्काएको स्थानीय अमृतध्वज राईले जानकारी दिए ।
सडक निर्माणको लागि सर्भेको चरणमा पंचावती गाविसको मौवासी हुँदै कटारी जोड्ने सडक विस्तारको योजना भए पनि कार्यान्वयनको चरणमा आईपुग्दा विभिन्न चलखेलका कारण सोहि गाविसको बगपती हुँदै सडकले काम गर्न खोजे पछि स्थानीयले रोक लगाएका हुन् ।
उनीहरुले पुरानै स्थान (मौवासी) बाट सडक विस्ताको माग राखेका छन् । बगपती हुँदै सडक निर्माण हुँदा धेरै खर्च हुने र राज्यको लगानी धेरै हुने तर स्थानीयलाई सडक विस्तारको उपलब्धी नहुने उनले बताए । यता मौवासी हुँदै सडक विस्तार भए स्थानीय विभिन्न पाँच गाविससलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले स्थानीयको जनभावाना अनुसार काम हुनु पर्नेमा आफूहरुको जोड रहेको राईको भनाइ छ ।
धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौँडा जोड्ने सडक आयोजनाको पूर्वी खण्डका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले भने योजनाको चरणमा मौवासी हुँदै सडक विस्तार गर्ने लक्ष्य राखिए पनि पछि प्राविधिक कठिनाई र भौगोलिक हिसाबले बगपत्ती हुँदै सडक निर्माण गर्नु पर्ने अबस्था आएको बताए ।
उनका अनुसार सडक डिभिजनले वगपत्ती हुँदै सडक विस्तार गर्ने र जिल्ला विकास समितिले मौवासी हुँदै सडक विस्तार गर्ने लक्ष्य रहे पनि स्थानीयको अबरोधका कारण काम प्रभावित भएको बताए ।













प्रतिक्रिया