काठमाडौं, ७ कात्तिक । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ ।
शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई फोरजी सञ्चालनका लागि अनुमति दिने भनी माइनुट उठाएको प्राधिकरणका प्रमुख दिगम्बर झाले बताए ।
उनका अनुसार टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइएको छ । अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्नेछ भने ५ मेगाहर्जबाट फोरजी सेवा सञ्चालन गर्ने छ ।
नेपाल टेलिकमसँग प्राधिकरणले दशैं अगाडी नै फोरजी सञ्चालनको कार्ययोजना माग गरेको थियो । टेलिकमले पेश गरेको कार्ययोजनाकै आधारमा टेलिकमलाई फोरजी सञ्चालनको लागि अनुमति दिइएको झाले बताए ।
यससँगै नेपाल टेलिकमले प्राधिकरणले उपलब्ध गराएको १८ सय मेगावाट फ्रिक्वेन्सी ब्याण्डमार्फत् पुस १५ गतेबाट सेवाग्राहीलाई फोरजी सेवा उपलब्ध गराउन पाउने छ ।















प्रतिक्रिया