काठमाडौँ, ६ कात्तिक । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२७ अङ्कले घटेर अन्तिम दिन १७९४.४७ अङ्कमा पुगेको छ ।
गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५६.१० अङ्कले बढेको थियो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीको कारोबार भएको छ । सोअनुसार १७ हजार १७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयर खरिदबिक्री भएका छन् ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.१६ अङ्कले घटेर ३८९.२४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा तथा कारोबार सङ्ख्याको आधारमा पनि कुमारी बैंक लिमिटेड अग्रस्थान पुग्न सफल भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस साता साङ्ग्रिला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार ५६० र रिलायवल डेभलपमेन्ट बैङ्कको सात लाख १६ हजार ८९३ बोनस सेयर, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको १८ लाख ४० हजार हकप्रद र एनएमबि बैंकको ९४ लाख ३१ हजार ३८४ कित्ता साधार साधारण सेयर सूचीकृत भएका नेप्सेलले जनाएको छ । रासस















प्रतिक्रिया