काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताउनु भएको छ ।
काठमाडौंमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै दाहालले माओवादीले शक्ति सञ्चय गरिरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हिजो हामी बिभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरू पनि कमजोर बने । अहिले हामी विगतको समीक्षासहित एकतावद्ध हुँदैछौं । अहिले हामी एकता र ध्रुवीकरणमार्फत् शक्ति सञ्चय गरिरहेका छौं ।’
दाहालले नेपालमा राजनीतिक परिवर्तनहरू दिगो नहुँदै राजनीतिक पार्टीहरूमा बिचलन आउने गरेको स्मरण गर्दै भन्नुभयो, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीहरूमा विभाजन र स्खलनहरू देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’
दाहालले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा रहेको चर्चा गर्दै भन्नुभयो, ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्बिकल्प शक्तिको रुपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ । अर्कोतिर राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि मेरै काँधमा छ । विगतमा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने प्रवृत्तिले देश नै बिखण्डन हुने त होइन ? भन्ने जोखिम निम्तियो, त्यसको समाधान दिनु पनि मेरै जिम्मेवारी हो । त्यसैले मलाई माओवादी आन्दोलन र सिङ्गो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’











प्रतिक्रिया