काठमाडौं, ५ कात्तिक । कांग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकार ढाल्न एमालेले महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका छन् ।
बीबीसी नेपाली सेवामा बिहीबार राति पत्रकार सरद केसीसँग कुरा गर्दै गृहमन्त्री निधिको ओलीको योजनामा महाअभियोग प्रस्ताव ल्याएर सरकारलाई अप्ठेरो बनाउने प्रयास गरिएको बताए । ‘एमालेले अहिलेको सरकार ढाल्न चालेको कदम हो’, उनले भने, ‘सरकार जोगाउन हामी प्रयास गर्छौं ।’
निधिले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा निर्णय गर्ने बेला अहिलै नभइसकेको बताए ।
निधिले हस्ताक्षरको आधिकारिकता कुरा टुङ्गो नलागी यसबारेमा निर्णय गर्नु उपयुक्त नहुँने बताएका हुन् ।
‘अदालतमा गम्भीर रुपमा उठिरहेको विषयलाई संसदले हेर्न मिल्ने कि नमिल्ने भन्ने विचार आइरहेका छन्’, उनले भने, ‘हस्ताक्षरमै विवाद देखिइरहेको छ । यो कुरा टुङ्गो नलागी हामीले निर्णय गर्ने कुरा आउँदैन ।’
बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा महाअभियोग नरहेको निधिले दाबी गरेका छन् ।
‘महाअभियोग एजेन्डामा नै छैन । अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षर महाअभियोग दर्तामा प्रयोग भएको भन्ने कुरा आएको छ’, उनले भनेका छन् ।











प्रतिक्रिया